
श्रेणी : अपराध
राजविराज,२७ जेठ । प्रमुख प्रशासकीय अधिकृतको सरुवालाई लिएर चर्किएको विवादले मंगलबार राजविराज नगरपालिकामा हिंसात्मक रूप लिएको छ। कार्यालय परिसरमै लेखा अधिकृत शत्रुधनलाल दास कुटिएका छन्। उनीमाथि कुटपिट भएपछि गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको छ।
दासले आफूमाथि भएको आक्रमण निलम्बित मेयर भीमराज यादवको निर्देशनमा भएको आरोप लगाएका छन्। उनका अनुसार, “यादवको इशारामा ४–५ जनाले आक्रमण गरे र सुनको सिक्रीसमेत खोसे।”
तर, आन्दोलनरत यादवको फरक दाबी छ। उनले कार्यवाहक मेयर इसरत परविन र केही कर्मचारीमाथि आफूमाथि आक्रमण गर्न खोजेको आरोप लगाउँदै भने, “हामी शान्तिपूर्ण धर्नामा थियौं, उनीहरू प्रहरी लिएर आएर ताल्चा फोड्दै कुटपिट प्रयास गरे। यस क्रममा ९ नम्बर वडाध्यक्ष पनि घाइते भए।”
विवादको जड भनेको प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहको सरुवा हो। साहलाई हटाएर आठौं तहका कर्मचारी भोगेन्द्रप्रसाद यादवलाई निमित्त जिम्मेवारी दिइएपछि यादव पक्षले विरोध गर्दै आइतबारदेखि कार्यालयमा तालाबन्दी र धर्ना सुरु गरेका हुन्।
सोमबार दुवै पक्षबीच लामो छलफल भए पनि समाधान ननिस्केपछि अवस्था तनावग्रस्त बन्दै गएको हो।
कार्यवाहक मेयर परविनले डा. साहले नियमित रूपमा कार्यालय नदिएको र उपसचिवको अभावकै कारण असारसम्मका लागि अस्थायी रूपमा जिम्मेवारी दिइएको स्पष्ट पारिन्। उनले आन्दोलनलाई “अनावश्यक र राजनैतिक” भनी टिप्पणी गरिन्।
जिल्ला प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले कुटपिट घटनाको पुष्टि गर्दै अनुसन्धान जारी रहेको बताए। “वर्तमानमा हामी स्थिति सामान्य पार्न प्रयासरत छौं, दोषी जो भए पनि कारबाही हुनेछ,” उनले भने।


प्रतिक्रिया