वीरगंज (पर्सा), १८ असोज । सप्तरी जिल्लाको राजविराज घर भई वीरगंज भिस्वा स्थित कृष्णा प्रणामी मन्दिरदेखि उत्तरपट्टि बस्दै आएका रामलखन मण्डलले वीरगंजका दर्जनौं सर्वसाधारणसँग करोडौं लुटेको घटना बाहिरिएको छ । राजबिराजबाट साइकल लिएर वीरगंज पसेका मण्डल करोडौंको सम्पत्ति जोडेका छन् । साधारण लेखपढ गरेका सर्वसाधारणहरुलाई कर्जा दिएर उनीहरुको सम्पत्ति हड्पने उनको मुख्य कार्य हो । वीरगंज – १२ स्थित विराटलक्ष्मी बचत तथा ऋण सहकारी सँस्था खोली सर्वसाधारणले जम्मा गरेको बचत रकमबाट कर्जा दिएर ५ गुणासम्म असुलेर पनि जग्गा लिलामी गराउने कार्य पनि गर्दै आएको घटना बाहिरिएको छ ।
बारा जिल्लाको कलैया उप-महानगरपालिका – १६ उत्तरझिट्कैया निवासी प्रभा देवी कोइरिनलाई ८ लाख कर्जा दिएर ४० लाख असुली गरेर पनि उनले धितो राखेको घर सहितको १० धुर जग्गा लिलामी गराउने तरखरमा रहेको घटना बाहिरिएको हो । सहकारी सँस्थाको अध्यक्ष समेत रहेका मण्डलले २०७४ सालमा ८ लाख कर्जा दिएर १५ लाखको कागजात बनाएका छन् र ग्यारेन्टीको लागि १० धुर जग्गा सहितको घर रोक्का गराएका थिए । १५ लाखको कागजात बनाएर तत्कालको लागि ८ लाख मात्रै कर्जा लिनुस् पछि थपौंला भनेर झुक्याई १५ लाखको कर्जा खडा गरे । त्यस पश्चात दुई वर्षसम्म कर्जा वापतको किस्ता ऋणिले बुझाउँदै जाँदा कोरोना महामारीमा किस्ता टुटेपछि २०७७ सालमा नवीकरणको नाममा ऋणि प्रभा देवी कोइरिनको नाममा दोश्रो पटक १८ लाख ऋण लिएको कागजात बनाए ।
साधारण लेखपढ पनि नजानेका कोइरी सहितका परिवारले कागजातहरुमा धमाधम हस्ताक्षर गरेका थिए । त्यसको दुई महिना नवित्दै अध्यक्ष मण्डलले पुनः तेश्रो पटक ऋणि कोइरिनको श्रीमान् गगनदेव महतो कोइरीको नाममा ८ लाख रुपैयाँ कर्जा लिएको कागजात बनाए । मण्डलले नवीकरणको कागज रहेको भनेर ४० लाख कर्जा दिएको कागजात बनाउन सफल भए । त्यस पश्चात ऋणिले सहकारीलाई पटक पटक गरि ४० लाख भन्दा बढि रकम बुझाए तर अहिलेपनि उनको र उनका श्रीमान्को नाममा २९ लाख कर्जा रहेको पीडितका छोरा श्याम कुशवाहाले गुनासो गरे । ऋण वापतको रकम बुझाउँदा बुझाउँदै पनि सहकारीले आफ्नो आमाको नामको घर सहितको जग्गा लिलामी प्रक्रियामा अगाडि बढाएको स्थानीय दैनिक पत्रिकामा प्रकाशित सूचना अनुसार थाहा पाए ।

त्यस लगत्तै तत्काल ऋणिका छोरा श्याम कुशवाहाले उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजबाट निषेधाज्ञा जारी गराए । उच्च अदालतबाट जारी भएको निषेधाज्ञा बुझाउन कार्यालयमा पुगेपछि अध्यक्ष मण्डलले कागजात बुझ्न मानेनन् । विगत ६ महिनादेखि सहकारी सँस्था दैनिक रुपमा संचालनमा छैन । त्यहाँ कार्यरत कर्मचारीहरु पनि छाडी सकेका छन् । त्यसमा बचत जम्मा गरेका बचतकर्ताहरुको रकम पनि डुब्ने अवस्थामा छ । त्यसको साथसाथै अध्यक्ष मण्डलले सहकारी सँस्थामा धितो स्वरुप राखिएको जग्गा सहितको सम्पत्ति लिएर फरार हुने तरखरमा रहेको पीडितको भनाई छ । कर्जा वापतको रकम भन्दा ५ गुणा बढि रकम तिरिसक्दा पनि आफ्नो जग्गा फिर्ता नआएपछि ऋणिका छोरा कुशवाहा सहितका परिवार न्यायको खोजीमा सहकारी सँस्था, मालपोत कार्यालय, वडा कार्यालयदेखि अदालतसम्म धाई रहेका छन् तर उनको सम्पत्ति फिर्ता हुन सकि रहेको छैन ।
अध्यक्ष मण्डल आफै फरार अवस्थामा छन् । कार्यालयमा कहिलेपनि जाँदैनन्, कार्यालयसँग असम्बन्धित एकजना युवकलाई कार्यालयमा राखेर पैसा असुलेर भाग्ने तरखरमा रहेका छन् । उच्च अदालतले जारी गरेको निषेधाज्ञा पत्र हुलाक कार्यालय मार्फत पठाउँदा पनि सहकारी सँस्थाले त्यो पत्र बुझ्न मानेका छैनन् । उच्च अदालतले जारी गरेको निषेधाज्ञामा विराटलक्ष्मी बचत तथा ऋण सहकारी सँस्थालाई विपक्षी बनाई निषेधाज्ञा आदेश किन जारी हुनु नपर्ने हो ? सबुत प्रमाण सहित १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । तर अध्यक्ष मण्डलले त्यो निषेधाज्ञा पत्र बुझ्न मानेका छैनन् । अदालतको कर्मचारीले लिएर आए मात्रै कागजात बुझ्ने अध्यक्ष मण्डल बताउँछन् । प्रभा देवी कोइरिनको जग्गा लिलामी प्रक्रिया पुरा भइसकेकोले कागजात लिन नसकिने उनको भनाई छ ।

तर लिलामी प्रक्रिया भने अहिलेसम्म भएको छैन । सहकारी सँस्थाले नै भदौ १४ गते स्थानीय जनभण्डाफोर दैनिक पत्रिकामा लिलामीको लागि सूचना प्रकाशित गरेको छ र त्यसमा लिलामी हुने स्थान सहकारी सँस्थाको कार्यालय लेखिएको छ तर सँस्थामा कसैको उपस्थिति छैन । मण्डलसँग यस घटनाबारे बुझ्दा फरक फरक जवाफ दिइरहेका छन् । ऋणिको नाममा एउटा मात्रै कर्जा रहेको बताउँछन् तर उनको सँस्थाको कागजातले नै ऋणि प्रभा देवीको नाममा १५ लाख र १८ लाख गरि दुईवटा कर्जा रहेको देखाई रहेको छ । मण्डलको जवाफले नै उनको फर्जी कार्यलाई छर्लङ्ग बनाई रहेको छ । मण्डलले कहिले धितो जग्गाको लिलामी प्रक्रिया पुरा भइसकेको बताइरहेका छन् त कहिले पैसा बुझाए लिलामी प्रक्रिया रोकिने जवाफ दिइरहेका छन् ।
मण्डलको ठगी धन्दा बचतकर्ताहरुले थाहा पाएपछि उनी कार्यालयबाट सम्पर्कविहीन बनेका छन् । कार्यालयमा एक युवकको साहाराले को व्यक्ति आए ? के गर्न आए ? जानकारी लिएर फोनबाट कुरा गर्ने गरेका छन् । कार्यालयमा कुनै कर्मचारी नभएपछि बचतकर्ताहरु पनि आफ्नो बचतको पैसा लिन पाएका छैनन् । हजारांैं बचतकर्ताहरुको रकम सँस्थामा डुबेको बराबर छ । सँस्थाको कार्यालय महिनामा एक दुई दिन खुल्छ तर त्यसमा कर्मचारी हुँदैन । आर्थिक कारोबार हुँदैन । कर्जा वापतको पैसा बुझाउनु छ भने अध्यक्षको निजी खातामा पैसा मगाउने गरेका छन् तर बचतकर्ताले पैसा लिन आउँदा सँस्थाको आधिकारिक व्यक्ति नभएको भनेर फर्काउने गरेका छन् । मण्डलको चतुर बुद्धिले ऋणिको साथसाथै बचतकर्ताहरु मारमा परेका छन् । मण्डल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा पटक पटक उजुरी परेको छ तर उनी पैसाको आडमा उम्किँदै आएका छन् ।

प्रतिक्रिया