श्रेणी : BANNER
काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा उपस्थित सबै राजनीतिक दल र सदस्यबाट असल संवैधानिक र संसदीय अभ्यासको अपेक्षा गरेका छन् ।
संसद दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले बहुदलीय व्यवस्थामा राजनीतिक दलहरु नै संवैधानिक र संसदीय अभ्यासका असली सञ्चालक भएको हुनाले राजनीतिक दलहरुको आपसी सद्भाव, सहमति र समन्वयमा नै संसद्को गतिशीलता र क्रियाशीलता निर्भर रहने उल्लेख गरेका छन् ।
उनले संसद दिवसले सङ्घीय संसद्का सदस्यहरु, संविधानसभा सदस्यहरु, पूर्वसांसद, संसद् सचिवालयलगायत राष्ट्रसेवक कर्मचारी वर्ग एवं आमनेपाली जनतामा संसदीय लोकतन्त्रको रक्षा र सुदृढीकरणका लागि प्रेरणा मिलोस् भन्ने कामनासमेत गरेका छन् ।
उनले संसद् जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने एक महत्वपूर्ण संस्थाको रुपमा अविच्छिन्न स्थापित गर्न प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् । नेपालमा विसं २०१६ असार १६ गते संसदको पहिलो बैठक बसेको ऐतिहासिक दिनको स्मरण गर्दै वर्षेनी संसद् दिवस मनाइँदै आएको छ ।
प्रतिक्रिया