वीरगन्ज :

रहिनन् वरिष्ठ राजनीतिज्ञ श्रेष्ठ

श्रेणी : समाचार

3 years
birgunj report
30Views
0 Shares

चितवन । वरिष्ठ राजनीतिज्ञ मैयादेवी श्रेष्ठको ९५ वर्षको उमेरमा आइतबार बिहान निधन भएको छ । पछिल्लो समय निमोनियाबाट अस्वस्थ भइ नेपाली कांग्रेसकी नेतृ श्रेष्ठ यही कात्तिक ४ गतेदेखि चितवन मेडिकल कलेजको अस्पतालमा उपचाररत थिइन् । उनी अविवाहित थिइन् । वरिष्ठ समाजसेवी श्रेष्ठमा श्वासप्रश्वासको समस्या देखिएको थियो ।

उनलाई गत असोज २५ गते अस्पताल भर्ना गरिएकामा पाँच दिनपछि घर लगिएको थियो । पुनः उनको स्वास्थ्य अवस्था जटिल भएपछि अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा पूर्व सांसद श्रेष्ठको आइतबार बिहान निधन भएको उनका धर्मपुत्र टङ्कनाथ पौडेलले जानकारी दिए । नेपाल आमा सम्मानबाट सम्मानित पूर्वसांसद श्रेष्ठ यहाँस्थित मैयादेवी कन्या क्याम्पसको संरक्षक हुन् ।

धर्मपुत्र पौडेलका अनुसार दानवीरका रूपमा परिचित श्रेष्ठले हालसम्म दान गरेका सम्पत्ति एक अर्ब भन्दा माथिको रहेको छ । विसं १९८५ असोज ५ गते फूलपातीका दिन तनहुँको बन्दीपुरमा श्रेष्ठको जन्मभएको थियो ।

आज बिहान ९ः३० बजेबाट १०ः३० बजेसम्म उनको पार्थिव शरीरलाई कांग्रेसको पार्टी कार्यालय कमलनगरमा राखिने र यसपछि उनी संरक्षक रहेको मैयादेवी कन्या क्याम्पसमा केहीबेर राखेर दिउँसो १ बजे देवघाट लगिने कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए । पार्टीले शोक वक्तव्य जारी गर्दै आजका सबै कार्यक्रम स्थगन गरी शोक मनाउने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *