श्रेणी : BANNER
पोखरा, २५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा लामिछानेलाई यसअघि हिरासतमा राखिएको थियो।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले बिहीबार लामिछानेलाई धरौटीमा रिहा गर्ने निर्णय गरेपछि अब उनी बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन्। अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार लामिछानेलगायत ७ प्रतिवादीमाथि थुनछेक बहस बिहीबार सकिएको थियो।
सरकारी वकिल कार्यालयले गत पुस ७ गते लामिछानेसहित ४४ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो। लामिछानेमाथि सहकारी ठगीको मुख्य अभियोग लगाउँदै डेढ अर्ब रुपैयाँ बिगो असुल गर्नुपर्ने दाबी गरिएको छ। प्रहरी अनुसन्धानका अनुसार उनीमाथि ४ देखि ६ वर्ष कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय, र सम्पत्ति शुद्धीकरण मुद्दामा २ देखि १५ वर्षसम्म कैदको सजाय माग गरिएको छ।
सहकारी ठगी प्रकरणमा लामिछानेसँगै पूर्व डीआईजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, र रामबहादुर खनाललगायतविरुद्ध पनि मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालयका अनुसार हालसम्म सूर्यदर्शन सहकारीको ठगी मुद्दामा ६३ जनामाथि कारबाही प्रक्रिया अघि बढाइएको छ।
प्रहरीको रायअनुसार लामिछानेको सामूहिक बिगो १ करोड ६२ लाख ६५ हजार र व्यक्तिगत बिगो १ करोड ७५ लाखका साथै सम्पत्ति शुद्धीकरण अन्तर्गत २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ माग दावी गरिएको छ।
प्रतिक्रिया