
श्रेणी : प्रदेश
पाेखरा,२५ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसमेत जोडिएको पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा आज (बिहीबार) निर्णायक दिन हुनसक्नेछ। सरकारी वकिल कार्यालयले आज जवाफी बहस गर्दैछ, जसपछि थुनामै राखेर मुद्दा अघि बढाउने कि बाहिरै बसेर प्रतिवाद गर्न दिने भन्ने इजलासको आदेश आउन सक्नेछ।
सरकारी वकिल कार्यालयकी प्रमुख कमला काफ्लेका अनुसार, बुधबार सहकारी पीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका थिए। आज सरकारी वकिलको बहस सकिएपछि न्यायाधीश नितिज राईको इजलासले रविसहितका प्रतिवादीको थुनछेकबारे आदेश जारी गर्ने सम्भावना रहेको छ।
काफ्लेका भनाइ अनुसार, बहस सम्भवत: पहिलो सत्रमै सकिनेछ। “आदेश दिने कुरा भने इजलासले गर्न भ्याउने समय र प्रक्रिया माथि निर्भर गर्दछ,” उनले नेपालखबरसँग बताइन्।
रवि लामिछानेसहितका प्रतिवादीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग लगाइएको छ। सरकारी वकिल र पीडित पक्षले लामिछानेलाई थुनामै राखेर अनुसन्धान अघि बढाउन माग गरेका छन्।
यो मुद्दामा रविसहितका ७ जना प्रतिवादी पक्राउ परेका छन्। यसमा पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङ पनि समावेश छन्।
यो मुद्दामा ४४ जना प्रतिवादी बनाइएका छन्, जसमा सहकारी ठगीसम्बन्धी अभियोग ३१ जनाविरुद्ध दायर गरिएको छ। उनीहरूबाट १ अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ।
पुस १६ गतेदेखि जारी थुनछेक बहस आज सकिएपछि न्यायालयले निर्णय सुनाउने अपेक्षा गरिएको छ। रवि लामिछाने र उनका सह-आरोपितहरूलाई थुनामा पठाउने कि थुनाबाहिरै राखेर मुद्दा अघि बढाउने भन्ने विषयले आज निर्णायक मोड लिनसक्छ।


प्रतिक्रिया