
श्रेणी : मधेस
बीरगन्ज,०१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पक्षमा सञ्चालित हस्ताक्षर अभियानमा २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेका छन्।
पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा रास्वपा नेता दीपक बोहराले यो अभियानलाई थप सशक्त बनाउँदै लैजाने तयारी भएको जानकारी दिए।
रास्वपाले लामिछानेमाथि सरकारले ‘राजनीतिक प्रतिशोध साँधेको’ आरोप लगाउँदै असार ७ गतेदेखि हस्ताक्षर संकलन अभियान सुरु गरेको थियो। अब साउन ५ गतेदेखि देशव्यापी घरदैलो अभियान सञ्चालन गर्दै सभापतिको अपिल र हस्ताक्षर संकलनलाई अघि बढाइने बोहराले बताए।
अभियानलाई विस्तार गर्दै केन्द्रीय कार्यालय, प्रदेश, सीमा नाका र विदेशमा समेत बुथ राखी हस्ताक्षर संकलन गरिने जनाइएको छ। बोहराका अनुसार हालसम्म अभियानका लागि ४६ लाख १२ हजार ६३७ रुपैयाँ सहयोग संकलन भइसकेको छ भने अभियान संचालन, अपिल तथा हस्ताक्षर फारम छाप्ने लगायतका कार्यमा ५९ लाख ६८ हजार रुपैयाँ खर्च भइसकेको छ।
रास्वपाले सभापति लामिछानेमाथि न्याय नभएको र सरकारले ‘फसाउन खोजेको’ दाबी गर्दै जनसमर्थन बटुल्ने प्रयास गरिरहेको छ। हस्ताक्षर संकलन र अब सुरु हुने घरदैलो कार्यक्रमले लामिछाने प्रकरणलाई राजनीतिक मुद्दाका रूपमा थप सशक्त बनाउने देखिएको छ।


प्रतिक्रिया