वीरगन्ज :

रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो ठगी आरोपमा पक्राउ

श्रेणी : अपराध

4 weeks
Pradeep Sah
2.4kViews
1371 Shares

जनकपुर,२१ जेठ । ठगी तथा आपराधिक विश्वासघात र आपराधिक लाभको आरोपमा जनकपुरधामस्थित रमण कन्स्ट्रक्सन प्रालिका सञ्चालक पवन महतो पक्राउ परेका छन्। धनुषा जिल्ला अदालतको आदेशअनुसार मंगलबार उनलाई काठमाडौँको चाबहिलबाट पक्राउ गरी बिहान जनकपुर ल्याइएको धनुषा प्रहरीले पुष्टि गरेको छ।

धनुषा प्रहरी प्रमुख एसपी नरहरि रेग्मीले महतोमाथि ठगीसम्बन्धी जाहेरी परेपछि पक्राउ गरिएको जानकारी दिए। सोही प्रकरणमा उनका बुवा तथा कम्पनीका संस्थापक बलराम महतो र भाइ रमण महतो पनि मुछिएका छन्। तर उनीहरू फरार रहेको प्रहरीले जनाएको छ।

जेठ ६ गते जिल्ला अदालत धनुषाले तीनै जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। पवन महतो पक्राउ परे पनि उनका बुवा र भाइलाई खोजी कार्य जारी छ।

प्रकरणको जड दिगहवा–लोखरम सडक निर्माणसँग जोडिएको छ। सो सडक निर्माणका लागि मधेश प्रदेश सरकारले रमण कन्स्ट्रक्सन र एस एन्ड बी इन्फ्रास्ट्रक्चर प्रालिसँग संयुक्त सम्झौता गरेको थियो। सम्झौताअनुसार एस एन्ड बी प्रालिका सञ्चालक सन्तोकुमार यादवले ९ करोड २१ लाख र ८ करोड ९७ लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी दिएका थिए।

तर काम सञ्चालनको क्रममा रमण कन्स्ट्रक्सनले एस एन्ड बीलाई नजनाई एकतर्फी रूपमा ग्यारेन्टी रकम झिकेको भन्दै सञ्चालक यादवले धनुषा प्रहरीमा ठगी र आपराधिक लाभसम्बन्धी उजुरी दिएका हुन्।

उनका अनुसार काठमाडौँको चाबहिलस्थित बैंक शाखाबाट रमण महतोको हस्ताक्षरमार्फत रकम निकालिएको थियो, जसबारे एस एन्ड बीलाई जानकारी दिइएको थिएन। यसै आधारमा अनुसन्धान अघि बढाइएको छ।

पक्राउ परेका पवन महतोमाथि थप अनुसन्धान धनुषा प्रहरीले गर्नेछ भने फरार रहेका बुवा र भाइलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *