वीरगन्ज :

रमगढवा–सिर्सियामा रास्वपाको घरदैलो तीव्र : भ्रष्टाचार अन्त्यका लागि घण्टीमा मतदान गर्न आग्रह

श्रेणी : मधेस

2 hours
Pradeep Sah
2.7kViews
1390 Shares

वीरगञ्ज, १२ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु ले मंगलबार वीरगञ्ज महानगरपालिका वडा नम्बर–२४ रमगढवा र वडा नम्बर–२५ सिर्सिया क्षेत्रमा घरदैलो अभियानलाई तीव्र बनाएका छन्। सो क्रममा उनले भ्रष्टाचार र कुशासन अन्त्य गर्दै समुन्नत राष्ट्र निर्माणका लागि रास्वपाको घण्टी चुनाव चिन्हमा मतदान गर्न स्थानीय मतदातालाई आग्रह गरेका थिए।

मतदातासँग प्रत्यक्ष संवाद गर्दै कानुले लामो समयदेखि सीमित राजनीतिक नेतृत्वकै प्रभावमा क्षेत्रको विकास रोकिएको आरोप लगाए। पर्सा रणनीतिक दृष्टिले महत्त्वपूर्ण जिल्ला भए पनि निर्वाचित प्रतिनिधिहरूको प्राथमिकतामा नपर्दा शिक्षा, स्वास्थ्य, सडक तथा अन्य आधारभूत पूर्वाधारको अवस्था कमजोर बनेको उनले बताए। विगतका नेतृत्वले जनताको आवश्यकता भन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिएको आरोपसमेत उनले लगाए।

आफू निर्वाचित भए कृषि, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रलाई केन्द्रमा राखेर परिणाममुखी कार्यक्रम अघि बढाउने योजना रहेको कानुको भनाइ थियो। स्थानीय तह र संघीय सरकारबीच समन्वय गरी योजनाबद्ध विकास अघि बढाइने उनले स्पष्ट पारे। उनले किसानलाई समयमै मल उपलब्ध गराउने व्यवस्था सुनिश्चित गर्ने तथा युवालाई सीपमूलक तालिममार्फत स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे। यसबाट वैदेशिक रोजगारीमा जाने बाध्यता कम हुने उनको विश्वास छ।

घरदैलोका क्रममा स्थानीय बासिन्दाले खानेपानी, सडक, शिक्षा र स्वास्थ्य सेवामा सुधार नआएको गुनासो गरेका थिए। त्यसको जवाफमा कानुले जनताको समस्या संसद्मा प्रभावकारी रूपमा उठाउने र विकासमा देखिने परिणाम दिने गरी काम गर्ने प्रतिबद्धता दोहोर्‍याए।

कार्यक्रममा सहभागी युवाहरूले परिवर्तनको आवश्यकता औँल्याउँदै नयाँ राजनीतिक शक्तिप्रति आकर्षण बढ्दै गएको प्रतिक्रिया दिएका थिए। महिलाहरू र ज्येष्ठ नागरिकहरूले पनि यसपटक सुशासन र जबाफदेहितालाई आधार बनाएर मतदान गर्ने धारणा व्यक्त गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *