
श्रेणी : BANNER
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार बनेको चार महिनाको अवधिमा मुलुकमा सकारात्मक सुरूवात भएको बताएका छन् । सोमबार दिउँसो नेपाल ट्रेड युनियन महासंघको आठौँ महाधिवेशनमा सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा सरकार गठन भएपश्चात् राम्रो कामको सुरूवात भएको बताए ।
उनले भने, ‘यसअघि दसौँ वर्ष समयमै विद्यालयमा पुस्तक नपुगेर लाखौँ विद्यार्थीहरूको भविष्य अन्यौलमा थियो। तर, यसपटक समयभन्दा अगाडि नै दुर्गमभन्दा दुर्गमका विद्यालयमा पुस्तक पुगेका छन्। राजस्व संकलन बढेको छ। चोरीपैठारी घटेको छ। रेमिट्यान्स बढेको छ। विदेशमा रहेका लाखौँ नेपाली श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक कार्यक्रममा आवद्ध गरिएको छ। तर, विरोधीहरू राम्रा काम देख्नै चाहँदैनन्। आँखैअगाडि राम्रा काम भएको देख्छन्। तर, राम्रो भयो भन्दैनन्।’
‘हिजो राहदानी, राष्ट्रिय परिचयपत्र लिने ठाउँमा लामा लामा लाइन थिए। अहिले लामा लाइन घटेका छन्। सेवा प्रवाहमा सुधार आएको छ। सुशासनका निम्ति राम्रो आधार तयार भएको छ। यी कामको विरोधीहरूले चर्चासमेत गर्दैनन्, त्यसैले राम्रा काम हामीले नै जनतासम्म लैजानुपर्छ।’ प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्रीले भने, ‘हिजो हामीले निकै ठूलो संघर्ष गरेर नै संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको हो। यो सामान्य परिवर्तन होइन। तर परिवर्तनका विरोधीहरू क्रान्तिका उपलब्धि उल्टाउन विभिन्न ढंगले लागेका छन्। हामी गर्जिएनौँ भने प्रतिक्रियावादीहरू फेरि टाउको उठाउन सक्छन्। रछ्यानमा मिल्किसकेका प्रतिक्रियावादी शक्तिहरूले पूरानै व्यवस्थाको सपना देख्दैछन्। त्यसैले तपाई–हामीहरू फेरि जाग्नुपर्छ।’

प्रतिक्रिया