वीरगन्ज :

रक्सौल–जयनगर रेल सेवा सञ्चालनमा आउने

श्रेणी : अन्तर्राष्ट्रिय

2 weeks
Pradeep Sah
1.5kViews
1308 Shares

वीरगन्ज,०९ माघ । भारतको गणतन्त्र दिवसको अवसरमा वीरगञ्जको सीमावर्ती भारतीय सहर रक्सौलदेखि जयनगरसम्मको रेल सेवा सुरु हुने भएकाे छ । रेल सेवा सुरु हुने भएपछि सीमावर्ती क्षेत्रका बासिन्दामा उत्साहित भएका छन् ।

समस्तीपुर मण्डलका रेल प्रबन्धक विनय श्रीवास्तवले नयाँ रेल सेवा २५ जनवरीमा उद्घाटन हुने बताए । नयाँ रेलले रक्सौलबाट सीतामढी, पुपरी, दरभङ्गा हुँदै जयनगरसम्म यात्रा गर्नेछ । सेवाले नेपाल–भारत सीमावर्ती क्षेत्रका बासिन्दाहरूको यात्रा सहज बनाउने विश्वास लिइएकाे छ ।

नयाँ रेल रक्सौलबाट बेलुका ७:३५ बजे प्रस्थान गर्नेछ । घोडासहनमा ८:२० बजे, दरभङ्गामा राति ११:०५ बजे, र बिहान ३:१० बजे जयनगर पुग्नेछ । फर्कने क्रममा रेल जयनगरबाट बिहान ५:१० बजे छुटेर दरभङ्गा, घोडासहन हुँदै बिहान १०:२० बजे रक्सौल आइपुग्नेछ । रेलले घोडासहन, बैरगनिया, सीतामढी, जनकपुररोड, दरभङ्गा, सकरी, पण्डौल, मधुबनी, र राजनगरमा विश्राम गर्ने व्यवस्था छ ।

रेलमा आठ वटा बोगी उपलब्ध छन् । स्थानीयहरूले नयाँ रेल सेवा नरकटियागञ्जबाट सुरु गर्न सुझाव दिएका छन्, जसले थप यात्रुलाई लाभ पुग्ने अपेक्षा गरिएको छ ।

नयाँ रेल सेवाको घोषणा पछि सीमावर्ती क्षेत्रका बासिन्दाहरूले खुसी व्यक्त गरेका छन् । रक्सौलका व्यापारी मनोज सिंहले नयाँ रेल सेवाले आफ्नो व्यापार र यात्रालाई सहज बनाउने विश्वास व्यक्त गरे । “विशेष गरी जयनगरसम्मको सिधा रेलले नेपाल–भारत सीमावर्ती क्षेत्रको आर्थिक गतिविधिलाई पनि बल पुर्‍याउनेछ,” उनले भने ।

वीरगञ्जका चिया पसल सञ्चालन गरेर बस्दै आएका राकेश ठाकुरले पहिले जयनगरसम्म पुग्न धेरै समय र पैसा खर्च हुने गरेको बताए । “अब नयाँ सेवा सुरु भएपछि हाम्रो कामको यात्रा सरल हुनेछ,” उनले भने ।

हाल रक्सौलबाट पटना, मुजफ्फरपुर, हाजीपुर, सहरसा, दिल्ली, र कोलकाता जस्ता गन्तव्यहरूमा रेल सेवा उपलब्ध छन् । रक्सौल–दिल्ली जनसाधारण एक्सप्रेस र रक्सौल–हावडा एक्सप्रेस जस्ता रेलहरूले यात्रुलाई देशका प्रमुख सहरहरूसँग जोडिरहेका छन् ।

रक्सौल–जयनगर रेल सेवाले बारा, पर्सा, रौतहट लगायतका क्षेत्रका यात्रुहरूको यात्रा समय र खर्च कम गर्नेछ । सीमावर्ती क्षेत्रका व्यापारिक गतिविधि, धार्मिक यात्रा, र सामाजिक सम्पर्कलाई पनि यो सेवाले प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ ।

नयाँ सेवा सीमावर्ती बासिन्दाका लागि मात्र होइन, नेपाल र भारतबिचको सांस्कृतिक र आर्थिक सम्बन्धलाई अझ बलियो बनाउन समेत महत्त्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *