
श्रेणी : BANNER
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सरकार गतिहीन भएको आरोप लगाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले सरकार गठन भएको एकसय दिनलाई हेर्दा सरकारको उपलब्धि भ्रष्टाचार भएको आरोप लगाएका हुन् ।
उनले सरकारको एकसय दिनको ३७ बुँदे उपलब्धि पढ्दा आफूले केही नभेटेको बताए । उनले ३७ बुँदामा मुलुकको आर्थिक संकट टार्ने केही योजना समावेश नहुनु दुःखद भएको बताए ।
उनले यो नीतिहीन, विचारहीन र सिद्धान्तहीन सरकार भएको आरोप लगाए । उनले भने, ‘एउटासँग विवाह गर्यो, अर्कोसँग पोइला गयो । एक सय दिनमा मन्त्रिपरिषदलाई पूर्णता दिन सकेको छैन । यो सरकारले के निकास दिन्छ ?’
कोही व्यक्ति कति पटक प्रधानमन्त्री भयो भन्ने उल्लेखनीय नहुने भन्दै सांसद पन्तले के काम गर्यो भन्ने महत्वपूर्ण हुने बताए । उनले भने,‘ मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराई कति पटक प्रधानमन्त्री हुनुभयो ? तर उहाँहरुलाई सबैले सम्झिरहेका छन् । तर आजका प्रधानमन्त्री उभिएर बोल्न सक्दैनन्, तिनीहरुको अनुहारमा दागैदाग छ ।’
सांसद पन्तले सरकारको सय दिनको उपलब्धिबारे गरेको टिप्पणी गर्दा अमर्यादित भाषा र शब्द प्रयोग गरेको भन्दै सांसद लेखनाथ दाहालले यसमा सभामुखको ध्यान जानुपर्ने र संसदलाई मर्यादित बनाउनुपर्ने बताए । यसपछि सभामुख घिमिरेले यसप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।

प्रतिक्रिया