
श्रेणी : समाचार
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान सत्तागठबन्धन पाँचवर्ष जाने बताएका छन् ।
शुक्रबार ललितपुरको बोडेस्थित पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईका आश्रम पुगेका उपसभापति खड्काले पत्रकारहरुसँग कुरा गर्दै पदको लोभका कारण पुस १० गते कांग्रेससहितको गठबन्धन भत्किएको भन्दै अब गठबन्धन बलियो बनाएर लैजाने बताए ।
उनले भने,‘पुस १० गते एजेण्डाहरुमा सहमत भएका दलहरु पदको कारणले गठबन्धन भत्कियो । त्यसै दिनदेखि नै एजेण्डामा सहमति भएका दलहरुबीचमा आन्तरिक रुपमा सुक्ष्म तरिकाले विभिन्न चरणमा संवाद हुँदै गयो र यो परिस्थिति बन्यो । अब गठबन्धन भत्किँदैन ।’
उपसभापति खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भएपनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभएको बताए ।
उनले अब छिटै नै गठबन्धनको बैठक बसेर औपचारिक निर्णय गर्ने बताए । उनले कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्नेकुरा सपनामा पनि नसोच्न आग्रह गरे ।
उनले भने, ‘कांग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग कांग्रेसले सहमति गर्ला भन्ने कसैले नसोचे हुन्छ । पाँचवर्ष टसमस नभएर ५ अघि बढ्छौं ।’

प्रतिक्रिया