श्रेणी : मधेस
बीरगन्ज,१८ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालका पर्सा नगर अध्यक्ष तथा सक्रिय युवानेता घनश्याम बाबु गुप्ताले आज एक सामाजिक उत्तरदायित्वअन्तर्गत महिला र बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री वितरण गरेका छन्।
गुप्ताले बीरगन्ज महानगरपालिका–१२ स्थित मुर्ली नगर स्वास्थ्य केन्द्रमा आयोजित कार्यक्रममा आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। कोरोना महामारीदेखि नै नियमित रूपमा स्वास्थ्य चौकीलाई सहयोग गर्दै आएका गुप्ताले हालसम्म पनि सो सेवा निरन्तरता दिँदै आएको भन्दै केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीहरूले आभार प्रकट गरेका छन्।
स्वास्थ्यकर्मीहरूका अनुसार, यसपटक वितरण गरिएका सामग्रीहरू विशेषगरी महिलाहरू—जसमा गर्भवती महिलाहरू प्राथमिकमा परेका छन्—र बालबालिकाको स्वास्थ्य समस्या ध्यानमा राखेर उपलब्ध गराइएको हो। गर्भवती महिलाका लागि गर्भमा रहेको शिशुको अवस्था र हृदयध्वनि परीक्षण गर्न प्रयोग हुने फेटल डप्लर मेसिन, साथै बालबालिकालाई स्वासप्रस्वाससम्बन्धी समस्या देखिएमा उपयोगी हुने नेबुलाईजर मेसिन समेत वितरण गरिएको छ।
स्वास्थ्यकर्मीहरूसँग कुराकानी गर्दै गुप्ताले समाजप्रतिको दायित्व निर्वाह गर्न पाउनु गर्वको विषय भएको उल्लेख गर्दै भने, “यस्ता सहयोग कार्यक्रमहरूले समुदायमा प्रत्यक्ष राहत पुर्याउँछ, र मलाई यसमा सधैं सन्तोष मिल्छ।”
उनले आगामी दिनहरूमा पनि यस्तै सामाजिक काममा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया