श्रेणी : मधेस
बीरगन्ज,१५ माघ । सामाजिक सेवामा क्रियाशील युनाइटेड नेपाल फाउन्डेसनले बीरगन्ज कपडा बैंकलाई तीन बोरा र दुई झोला न्यानो कपडा सहयोग गरेको छ। फाउन्डेसनका अध्यक्ष आकाश दास, सचिव पीयूष अग्रवाल, र कार्यक्रम संयोजक कुनाल श्रीवास्तवले कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलाई कपडा हस्तान्तरण गरेका हुन्।
फाउन्डेसनका अध्यक्ष दासले कपडा बैंकले विपन्न, असहाय, आगलागी र बाढीपीडितहरूलाई प्रदान गर्दै आएको निस्वार्थ सेवाले आफूहरू प्रभावित भएको बताए। चिसो मौसममा न्यानो कपडा किन्न नसक्नेहरूलाई सहयोग गर्ने उद्देश्यले कपडा बैंकलाई सहयोग गरिएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।
कपडा बैंकका अध्यक्ष सिंहले “तपाईंसँग धेरै छ भने हाम्रैमा दिएर जानुहोस्, केही चाहिएको छ भने हामीबाट लैजानुहोस्” भन्ने मूलमन्त्रका साथ कपडा बैंकले ६ वर्षदेखि सेवा प्रदान गर्दै आएको बताए।
कपडा हस्तान्तरण कार्यक्रममा बीरगन्ज कपडा बैंकका कोषाध्यक्ष मनोज मिश्रा र कर्मचारी शोभा देवीको समेत उपस्थिति थियो।
प्रतिक्रिया