वीरगन्ज :

युक्रेन सीमा नजिकै पोल्यान्डमा क्षेप्यास्त्र हमला, दुई जनाको मृत्यु

श्रेणी : अन्तर्राष्ट्रिय

3 years
birgunj report
22Views
0 Shares

पोल्यान्डमा युक्रेनको सीमा नजिकै क्षेप्यास्त्र खस्दा दुई जना मारिएका छन् । पोलिश सञ्चारमाध्यम र एपी समाचार संस्थाले उक्त घटनामा रुसी क्षेप्यास्त्र प्रहार भएको जनाएका छन् । यद्यपि आधिकारिक रूपमा त्यो पुष्टि भएको छैन ।

रुसको रक्षा मन्त्रालयले उक्त दाबीको खण्डन गर्दै त्यो उत्तेजना बढाउन जानाजान गरिएको कार्य भएको बताएको छ । अमेरिका र अन्य अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूले घटनाको यथार्थबारे आफूहरूले अनुसन्धान गरिरहेको जनाएका छन् ।

घटनापश्चात् पोल्यान्डको राष्ट्रिय सुरक्षा ब्युरोको आकस्मिक बैठक बसेको थियो। जसपश्चात् उसले आफूहरूसँग घटनामा को संलग्न छ भन्नेबारे यकिन तथ्याङ्क नभएको बताएको छ ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै पोल्यान्डका राष्ट्रपति आन्जे डुडाले भने, ‘कसले क्षेप्यास्त्र प्रहार गर्यो भन्नेबारे हामीसँग ठोस प्रमाण छैन। तर उक्त क्षेप्यास्त्र रुस निर्मित हो भन्ने सम्भावना अधिक छ। यद्यपि, यो घटना अझै अनुसन्धानको विषय हो।’

साथै पोल्यान्डका प्रधानमन्त्री मतेउस मोराविएत्स्कीले सर्वसाधारणलाई शान्त रहन अपील गरेका छन् । उक्त घटना लगत्तै पोल्यान्डले आफ्नो हवाई निगरानी पनि बढाउने उनको भनाइ छ ।

पोल्यान्डमा क्षेप्यास्त्र खस्नुको प्रतिक्रिया स्वरूप जी सेभेन समूहका राष्ट्र प्रमुखहरूले बुधबार एक आकस्मिक बैठक बस्ने तयारी गरिरहेको एक जापानी सञ्चार माध्यमले जनाएको छ । जी सेभेन समूहमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, बेलायत र अमेरिका छन् ।

रुसी सञ्चार माध्यमहरूले पोलिश क्षेत्रमा भएको क्षेप्यास्त्र हमलामा रुसको नभई युक्रेनको भूमिका रहेको सङ्केत गरिरहेका छन्।

युक्रेनले पोल्यान्डमा खसेको क्षेप्यास्त्र आफ्नो भएको सम्पूर्ण आरोपहरूको खण्डन गर्दै त्यसलाई षडयन्त्र सिद्धान्तको सङ्ज्ञा दिएको छ। साथै यस्ता आरोपहरू रुसी प्रोपगान्डाको अंश भएको समेत जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *