श्रेणी : अन्तर्राष्ट्रिय
राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा रुसका शीर्ष कमाण्डरलाई जिम्मेवारी सम्हालेको तीन महिनामै हटाएका छन् । चीफ अफ जनरल स्टाफ भलेरी गुरासिमफले अब पुटिनले भन्ने गरेको विशेष सैन्य कारबाहीको नेतृत्व गर्नेछन् ।
उनले पछिल्ला दिनमा युक्रेनका ऊर्जा पूर्वाधारमा निर्दयी हमलाहरूका नेतृत्व गर्ने सर्गेई सुरोभिकिनलाई विस्थापित गरेका छन् । रुसीहरूले पछिल्ला महिनामा युक्रेनमा शृङ्खलाबद्ध क्षतिहरू बेहोरेका थिए ।
तर हालैका दिनमा पूर्वी युक्रेनमा प्रगति हासिल गरिरहेको दाबी गरिरहँदा सैन्य नेतृत्वमा यस्तो परिवर्तन देखा परेको हो । रुसले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण सुरु गरेको थियो ।
सन् २०१२ यता उक्त पदमा रहेका जेनरल गुरासिमफ सोभियत सङ्घको समयपछि सबैभन्दा लामो समय रुसका चीफ अफ जनरल स्टाफ हुने व्यक्ति हुन् ।
हाल उनका सहायक रहेका जनरल सुरोभिकिन उनका यसअघिका युद्धका निर्मम शैलीका लागि चिनिन्छन्। जो सिरियामा रुसी अपरेसनमा र खासगरी अलेपोमा भएको भारी बमबारीका लागि जिम्मेवार थिए ।
अक्टोबरमा उनले युक्रेनमा ‘सैन्य कारबाही’को जिम्मेवारी लिएपछि रुसले त्यहाँ ऊर्जा पूर्वाधार ध्वस्त पार्ने काम अभियानकै रूपमा सञ्चालन गरेको थियो । दशौँलाख युक्रेनी नागरिकहरूले त्यसका कारण मध्य जाडोमा लामो समय बिजुली र पानीको आपूर्तिको अभाव झेलेका थिए ।
उनकै नेतृत्वका बेला युक्रेनको दक्षिण सहर खेअर्सनबाट रुस पछाडि हटेको थियो जसलाई युक्रेनीहरूले आफ्नो एउटा मुख्य सफलता बताउने गरेका छन्।
रुसको रक्षा मन्त्रालयले जनरल सुरोभिकिनलाई विस्थापित गर्ने काम रुसी फौजका विभिन्न अङ्गहरूबिच निकट सम्बन्ध बनाउन र रुसी फौजको गुणस्तर र प्रभावकारितालाई व्यवस्थापन गर्नु रहेको जनाएको छ ।
प्रतिक्रिया