
श्रेणी : अन्तर्राष्ट्रिय
युक्रेनको राजधानी किएभमा भएका शृङ्खलाबद्ध हवाई हमलाका कारण कैयन् आवासीय भवनहरू क्षतिग्रस्त भएका छन् ।
मेयर भिताली क्लित्स्कोले मानिसहरूलाई आश्रयस्थलमा शरण लिन भनेका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सचिव आन्द्री यर्माकले ती हमलाहरू इरानले दिएका रुसी कामकाजी ड्रोनको प्रयोग गरेर गरिएका बताएका छन् ।
राजधानी किएभको मध्ये भागस्थित शेभ्चेनकिभ्स्की इलाकामा त्यस्ता तीनवटा विस्फोट भएका थिए । हरेक विस्फोटन १० मिनेटको फरकमा भएको थियो ।
त्यसबाट भएका हताहतीको विवरण आएका छैनन् । खासगरि द्वितीय विश्वयुद्धका बेला जापानले लडाकू विमानलाई दुश्मनको सैनिक संरचनामा ठोक्काएर गर्ने आत्मघाती हवाई हमला दस्ताका सदस्यलाई कामिकाजी भन्ने गरिन्छ ।
गतसाता युक्रेनमा रुसले कैयन् क्षेप्यास्त्र प्रहार गर्दा १९ जनाको ज्यान गएको थियो । सोमबार विहान भएका हमलापश्चात उद्धारकर्ताहरू खटाइएको मेयर क्लित्स्कोले बताएका छन् । इरानले रुसलाई दिएको भनिएका त्यस्तो ड्रोनहरू आकाशमा घण्टौँ रहन सक्छन्। ती ड्रोन लक्षित निशानामा ठोक्किन जान्छन् र विस्फोट हुन्छन् ।
रुसले तिनको प्रयोग यसअघि पनि गरेको युक्रेनले बताएको छ । गतसाता भएका हमलाहरू रुस र क्राइमियाबीचको पुलमा भएको आक्रमणको बदलास्वरूप गरिएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका थिए । युद्ध सुरु भएयता राजधानी किएभको मध्ये भागमै हमला भएको त्यो पहिलोपटक थियो ।

प्रतिक्रिया