वीरगन्ज :

युक्रेनको प्रत्याक्रमणले रुसी योजना परिवर्तन नहुने पुटिनको भनाई

श्रेणी : अन्तर्राष्ट्रिय

2 years
birgunj report
6Views
0 Shares

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी प्रत्याक्रमणले रुसको योजनामा कुनै परिवर्तन नहुने बताएका छन् । उक्त मामिलामा पहिलो पटक आफ्नो धारणा सार्वजनिक गर्दै पुटिनले त्यसो भनेका हुन् ।

युक्रेनी फौजले एउटा उल्लेखनीय उपलब्धिका रूपमा पूर्वोत्तरको खार्किभ क्षेत्रमा ६ दिनमा ८ हजार वर्ग किलोमिटरभन्दा बढी भू–भाग आफ्नो नियन्त्रणमा आएको बताएको छ । तर पुटिनले आफू हतारमा नरहेको र युक्रेनको डोन्बास क्षेत्रमा आक्रमण जारी रहने बताए ।

उनले रुसले हालसम्म आफ्नो पूर्ण सैन्य शक्ति नखटाएकोमा पनि जोड दिए । उनले उज्बेकिस्तानमा एउटा शिखर सम्मेलनपछि भने, ‘डोन्बासमा हाम्रो आक्रामक अपरेशन रोकिएको छैन। हाम्रा सेना अगाडि बढिरहेका छन् । धेरै तीव्र गतिमा होइन तर उनीहरूले क्रमशः धेरै र अधिक क्षेत्र नियन्त्रणमा लिइरहेका छन् ।’

पूर्वी युक्रेनको औद्योगिक डोन्बास क्षेत्रमा रुसी नियन्त्रण केन्द्रित छ। पुटिनले त्यहाँका रुसी भाषा बोल्नेहरूको आम नरसंहार रोक्न आफूहरूले आक्रमण गरेको गलत दाबी गर्दै आएका छन् । डोन्बासका केही भागहरू सन् २०१४ देखि रुसी–समर्थित पृथकतावादीहरूले कब्जा गरेका छन् ।

शुक्रबार पुटिनले रुसी सेनाको एक हिस्साले मात्र युक्रेनमा लडिरहेको बताउँदै यदि युक्रेनी आक्रमण जारी रहेमा थप गम्भीर जवाफ दिने धम्की पनि दिएका छन् । अहिलेसम्म रुसले युक्रेनविरुद्ध आधिकारिक रूपमा युद्धको घोषणा गरेको छैन र आफ्नो आक्रमणलाई विशेष सैन्य कारबाही मात्र भनेको छ ।

तर रुसले हालैका दिनमा भोगेको क्षतिपछि केही क्रेमलिन समर्थक टिप्पणीकारले थप बल परिचालन गर्न आह्वान गरेका छन् । हालै बाहिरिएको एउटा गोप्य भिडिओमा एउटा निजी सैन्य कम्पनीले भाडाका सैनिकहरू भर्ती गर्ने प्रयास गरेको देखिन्छ । त्यसले रुसले लड्न इच्छुक पर्याप्त मानिस फेला पार्न सङ्घर्ष गरिरहेको सङ्केत गर्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *