श्रेणी : अन्तर्राष्ट्रिय
पूर्वी युक्रेनको पृथकतावादी नियन्त्रित सहर डोनेट्स्कमा भएका शृङ्खलाबद्ध विस्फोटनमा परी १३ जनाको मृत्यु भएको छ । अलेक्सी कुलेम्जिनले दण्डित गर्ने खालको युक्रेनी ’गोलाबारी’का कारण ती मानिसहरूको मृत्यु भएको आरोप लगाए । उक्त घटनाबारे युक्रेनी अधिकारीले कुनै टिप्पणी गरेका छैनन् ।
डोनेट्स्कलाई सन् २०१४ देखि रुसको प्रतिनिधत्व गर्ने अधिकारीहरूले नियन्त्रणमा राखेका छन् । उनीहरूले बारम्बार युक्रेनी सेनाले उक्त सहरलाई निसाना बनाएको आरोप लगाएका छन् । पूर्व युक्रेनको पृथकतावादी नियन्त्रित क्षेत्रका घटनाहरूको स्वतन्त्र रूपमा पुष्टि हुन कठिन छ ।
यद्यपि स्थानीय अधिकारीले सहरको पश्चिममा रहेको एउटा गाउँबाट डोनेट्स्कको कुभिशेभ्स्की जिल्लामा नौवटा १५० एमएमका गोलाबारी गरिएको बताएका छन् ।
स्थानीय नेता डेनिस पुशिलिनले युक्रेनले जानाजान बसस्टप, पसल र बैंकमा गोलाबारी गरेर सर्वसाधारणलाई निसाना बनाएको आरोप लगाए । यद्यपि गत फेब्रुअरीमा आक्रमण सुरु भएदेखि रुसी सेनाले डोनेट्स्क क्षेत्रका थप दक्षिणी भागहरूमा कब्जा गरेका छन् ।
तर पनि उनीहरूले युक्रेनी सेनालाई सहरको बाहिरी भागबाट पछाडि धकेल्न सङ्घर्ष गरिरहेका छन् । युक्रेनी फौजले दक्षिण र पूर्वोत्तरमा प्रत्याक्रमण सुरु गरेका छन् । उनीहरूले यसै महिना उत्तरी खार्किभ क्षेत्रमा सबैभन्दा नाटकीय रूपमा प्रगति गरेका छन् ।
प्रतिक्रिया