
श्रेणी : प्रदेश
लहान,२६ साउन । सिराहाको लहान नगरपालिका–२४ निवासी ८८ वर्षीय ज्येष्ठ नागरिक फनिलाल यादवको हत्यामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गर्न नेकपा एमाले सिराहाले माग गरेको छ।
गत साउन १४ गते राति धनगडीमाई नगरपालिका–११ ऋाम चोकस्थित आफ्नै घरमा सुतिरहेका बेला धारिलो हतियार प्रहार गरी यादवको हत्या गरिएको थियो। १३ पुण्य तिथिको अवसरमा मृतकको गृहगाउँमा आइतबार आयोजित श्रद्धाञ्जली सभामा नेकपा एमाले सिराहा इन्चार्ज तथा संघीय सांसद गङ्गा प्रसाद यादव, जिल्ला अध्यक्ष अशोककुमार यादव, धनगडीमाई नगर प्रमुख शिवशङ्कर महतो, सिराहा नगर प्रमुख नविनकुमार यादव, प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरीलगायतका नेताहरूले घटनाप्रति आक्रोश व्यक्त गर्दै दोषीलाई तत्काल कारबाहीको माग गरे।
सांसद यादवले घटना घटेको तेह्र दिन बितिसक्दा पनि हत्यारा पत्ता नलाग्नु सिराहाको शान्ति सुरक्षामाथि गम्भीर प्रश्न भएको टिप्पणी गरे। उनले दुई–चार दिनमै प्रहरीले परिणाम नदिए कडा आन्दोलनमा जाने चेतावनी दिए। उनका अनुसार हालको प्रहरी प्रशासन अपराधीसँग साँठगाँठमा रहेको आशंका बढिरहेको छ, र यो विषय संघीय संसदमा समेत उठाइसकिएको छ।
नगर प्रमुख महतोले धनगडीमाईमा बसमा आगजनी, सहकारी कार्यालयमा तोडफोड र हत्या जस्ता घटना भइरहे पनि प्रहरीको सक्रियता सन्तोषजनक नरहेको बताए। एमाले अध्यक्ष अशोककुमार यादवले प्रहरीको व्यवहार मृतक परिवारलाई तनाव दिने खालको भएको भन्दै पार्टी गम्भीर बनेको चेतावनी दिए।
यसैबीच, जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता नायब उपरीक्षक बीरेन्द्र पासवानले अनुसन्धान अन्तिम चरणमा पुगेको र केही दिनमै हत्यारालाई पक्राउ गर्ने विश्वास दिलाए।
फनिलाल यादव लहान नगरपालिका–२४ का पूर्व वडाध्यक्ष कमलदेव यादवका पिता हुन्। ८८ वर्षीय ज्येष्ठ नागरिकको यसरी निर्ममतापूर्वक हत्या हुनु सिराहामा पहिलो घटना भएको बताइएको छ। मानव अधिकारवादी संस्था र विभिन्न राजनीतिक दलहरूले समेत हत्यारा पक्राउ गरी कानुनी कारबाही गर्न माग गरिरहेका छन्।


प्रतिक्रिया