श्रेणी : अन्तर्राष्ट्रिय
काठमाडौं,२६ भदौ । परिवर्तित राजनीतिक अवस्थासँगै नेपाल–भारत–चीन सीमामा यातायात र सार्वजनिक आवागमन बन्द हुँदा अन्तर्राष्ट्रिय व्यापार ठप्प भएको छ।
भन्सार विभागका निर्देशक किशोर बर्तौला अनुसार दुवै देशतर्फ जाँच–पास ठप्प रहेको छ। मुलुकभित्र पनि सार्वजनिक र मालवाहक सवारीसाधनको आवागमन रोकिएको छ। भारतीय सीमा सुरक्षा बलले नेपालबाट भारत जाने यात्रुलाई अधिकांश स्थानमा रोक लगाएकाले अत्यावश्यक सामग्री आपूर्ति समेत प्रभावित भएको छ।
नजिकिँदो चाडबाडका लागि आवश्यक सामग्री अभाव हुने संकेत देखिएको छ। चीनतर्फ रसुवागढी नाकामा मितेरी पुल निर्माण अझै पूरा भएको छैन भने सडकसमेत सुचारु छैन। तातोपानी नाका पनि पूर्णरूपमा प्रयोगमा आएको छैन। भारततर्फको व्यापारका लागि यातायात अझै खुलिसकेको छैन।
राष्ट्रिय यातायात व्यवसायी महासंघले सुरक्षा प्रत्याभूति नभएसम्म सबै मालवाहक र सार्वजनिक यातायात चलाउन असमर्थ रहने चेतावनी पहिले नै दिइसकेको थियो। भदौ महिना देशमा अन्तर्राष्ट्रिय व्यापार बढी हुने महिना मानिन्छ। दशैं–तिहार जस्ता चाडबाडका लागि सामानको ठूलो मात्रा यही समयमा आउने गर्छ।
    
    
    
									
									
									
        
        
प्रतिक्रिया