वीरगन्ज :

यस्तो छ धादिङ–२ को चुनावी लेखाजोखा

श्रेणी : BANNER

2 years
birgunj report
5Views
0 Shares

मलेखु । धादिङ क्षेत्र नम्बर २ मा आसन्न निर्वाचनको माहोल तातेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यासी उम्मेदवार चुनावी घोषणापत्र बोकेर मतदाताको घरघर पुगिरहेका छन् ।

धादिङ–२ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारी र नेकपा एमालेबाट खेम लोहनीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

कांग्रेसका अधिकारीलाई नेकपा (माओवादी केन्द्र) र एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) तथा नेपाल समाजवादी पार्टीको साथ रहेको छ । एमालेका उम्मेदवार लोहनीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले साथ दिएको छ ।

यसो त यो निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बसुमाया तामाङ, नेपाली कांग्रेस बिपीबाट शङ्कर दर्जी, जनता समाजवादी पार्टी नेपालबाट मेकरमान तामाङ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट धनमाया तामाङ प्रतिस्पर्धामा छन् ।

मुख्य प्रतिस्पर्धा भने कांग्रेस र एमालेकै उम्मेदवारबीच हुने देखिएको छ । विगतमा तीन वटामा निर्वाचन क्षेत्र रहेको जिल्लामा सङ्घीयतापछि राज्य पुनःसंरचना गर्दा दुई वटा निर्वाचन क्षेत्र भएको छ ।

तीमध्ये पृथ्वीराजमार्गदेखि दक्षिणको महाभारत सिमानालाई जोडेर एउटा क्षेत्र नम्बर १ र जिल्ला सदरमुकामदेखि उत्तरको हिमाली भेगलाई समेटेर क्षेत्र नं २ बनेको छ । एउटा प्रतिनिधिसभा क्षेत्रभित्र दुई वटा प्रदेशसभा क्षेत्र छ ।

क्षेत्र नम्बर २ मा नीलकण्ठ नगरपालिकासहित ज्वालामुखी, त्रिपुरासुन्दरी, गङ्गाजमुना, नेत्रावती डबजोङ, खनियाबास र रुविभ्याली गाउँपालिका पर्दछ । सो क्षेत्रमा एक लाख ३६ हजार सातसय ४२ मतदाता छन् । जिल्ला निर्वाचन कार्यालय धादिङको तथ्याङ्कअनुसार प्रदेशसभा (क) मा ७२ हजार चार सय १४ र प्रदेशसभा( ख) मा ६४ हजार तीन सय २८ मतदाता छन् ।

सङ्घीयतापछिको पहिलो संसदीय निर्वाचनमा यस क्षेत्रबाट एमालेका नेता खेमप्रसाद लोहनी विजयी हुनुभएको थियो । कांग्रेसका नेता दिलमान पाख्रिनलाई छ सय ४० मतले पराजित गर्दै लोहनी विजयी हुनुभएको थियो ।

लोहनीलाई तत्कालीन अवस्थामा नेकपा माओवादी केन्द्रको साथ थियो । यसपटक पनि उम्मेदवारी दिएका सवै व्यक्ति र दलले आफूले नै विजय हासिल गर्ने बताइरहँदा गठबन्धनकोतर्फबाट कांग्रेस र राप्रपासँग तालमेलमा रहेको एमालेका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिन्छ ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले पाएको मतका आधारमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा कुन उम्मेदवार कति बलियो भन्ने लेखाजोखा निकाल्न सकिन्छ ।

यस्तो छ धादिङ–२ को लेखाजोखा
धादिङमा रहेका कूल एक सय चार वडामध्ये ५१ वडा रहेको सङ्घीय क्षेत्र नम्बर २ मा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा अधिकांश वडामा राजनीतिक दल एक्लाएक्लै प्रतिस्पर्धा गरेका थिए ।

एमालेले ५१ वटै वडा, कांग्रेसले ४३ वडामा र माओवादी केन्द्रले ३४ वडामा आफ्नो उम्मेदवार उठाएको थियो । त्यस्तै एकीकृत समाजवादी पार्टीले २४ वडा, राप्रपाले ४६ वडा र जनता समाजवादी पार्टीले १३ वडामा आफ्नो उम्मेदवार उठाएको थियो ।

तीमध्ये कांग्रेस २२ वडामा विजयी हुँदा माओवादी केन्द्र १० वडामा विजयी भएको थियो भने एमालेले आठ वटा वडामा विजय हासिल गरेको थियो । त्यस्तै राप्रपाबाट चार, स्वतन्त्रबाट तीन, जनता समाजवादीबाट एक र एकीकृत समाजवादीबाट तीन जना उम्मेदवार वडामा विजयी भएका छन् ।

जितेका र हारेका सबै वडा अध्यक्षले पाएको मत जोड्दा यस निर्वाचन क्षेत्रमा कांग्रेस २९ हजार नौ सय ६५ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ । त्यस्तै एमालेले २५ हजार नौ सय ३८ मत पाउँदा माओवादीले १४ हजार तीन सय ८० मत पाएको थियो ।

त्यस्तै राप्रपाले पाँच हजार दुई सय ८७ मत र नेकपा एकीकृत समाजवादीले तीन हजार चार सय ५६ मत पाएका छन् । त्यस्तै स्वतन्त्रलगायत अन्य साना दलले चार हजार नौ सय ४४ मत पाएका छन् ।

स्वतन्त्रबाट विजयी भएका तीनवटै वडामा नेपाली कांग्रेसकै वागी उम्मेदवार रहेकाले स्वतन्त्र उम्मेदवारले पाएको आधाजसो मत नेपाली कांग्रेसकै मत हुनसक्छ ।

सत्ता गठबन्धनमा रहेका दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका वडाध्यक्षले पाएको मत जोड्दा ४७ हजार आठ सय एक हुन आउँछ ।

त्यस्तै एमाले र राप्रपाका वडाध्यक्षले पाएको मत जोड्दा ३१ हजार दुई सय २५ मत हुन आउँछ । नेपाल समाजवादी पार्टीको पनि सत्ता गठबन्धनलाई नै साथ रहेकाले तत्कालीन जसपा र हाल नेसपाले पाएको भोट एक हजार ६० समेत जोड्दा जिल्लामा सत्ता गठबन्धनका उम्मेदवार अधिकारी १७ हजार छ सय ३६ मतले अगाडि देखिएका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार अधिकारीलाई यही अग्रताको मतान्तर विजयी हुने आधार हुनसक्छ भने राप्रपा–एमाले गठबन्धनका उम्मेदवार लोहनीलाई यही मतान्तर हारको बाटो हुन सक्छ ।

कांग्रेसका उम्मेदवार अधिकारीले आफ्नो इमान्दारिता, त्याग र जनताप्रतिको उत्तरदायी बन्ने प्रवृत्तिले थप सहानुभूतिको भोट प्राप्त गरेर विजयी हुने दावि गर्छन् ।

उनी भन्छन्, “गठबन्धनको आशले मात्रै मैले उम्मेदवारी दिएको होइन, मेरो सक्रियता, इमान्दारी र जनताप्रतिको मेरो सेवाभावले मेरो आफ्नै व्यक्तिगत भोट आउनेमा विश्वस्त छु, मेरो जीत निश्चित छ ।”

स्थानीय तहको निर्वाचनमा जसरी संसदीय निर्वाचनमा भोट नखस्ने र गठबन्धन दलमा भएको केही असहमतिका भोट ल्याएर चुनाव जित्ने रणनीतिमा एमाले छ । एमाले उम्मेदवार लोहनी भन्छन्, “मेरो चुनाव जित्ने आधार भनेकै विगतमा मैले गरेको काम हो ।” दुवै प्रतिस्पर्धीले पार्टीभित्रको असन्तुष्टि समाधान गर्नसकेमा प्रतिस्पर्धा थप रोचक हुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *