श्रेणी : BANNER
पोखरा, २७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई म्याद थपका लागि आज (बिहीबार) सातौं पटक जिल्ला अदालत कास्कीका उपस्थित गराइएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई सातौं पटक अदालत लगिएको हो ।
पछिल्लो पटक थपिएको ४ दिनको हिरासत म्याद बुधबार बेलुका नै सकिएकाले आज अदालत लगेर पुनः म्याद थप्न लागिएको प्रहरीले जनाएको छ । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने त्यसयता प्रहरीको हिरासतमा छन् । यसबीच उनीविरुद्ध यसअघि ६ पटकसम्म हिरासत म्याद थपिएको छ ।
आज थपिए सातौं पटक हुनेछ । लामिछानेविरुद्ध ५ वटा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान चलिरहेको छ । यसबीच उनलाई रुपन्देही, काठमाडौं, चितवन र पर्साका विभिन्न सहकारी ठगी आरोपमा समेत ती स्थानमा लगेर बयान लिइएको छ । पक्राउ परेका रविलाई पटक–पटक म्याद थपेर प्रहरीले अनुसन्धान गर्दै आएको छ ।
लामिछानेबारे अनुसन्धान सकेर कास्की प्रहरी प्रतिवेदनको तयारीमा जुटेको छ । एक दुई दिनमै अनुसन्धान प्रतिवेदन बुझाउने प्रहरीको तयारी छ । लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा मुद्दा दायर गर्न सकारी वकिललाई राय सहितको प्रतिवेदन बुझाउने भएको छ ।
प्रतिक्रिया