
श्रेणी : अर्थ
वीरगञ्ज, २२ पुस – पर्साको छिपहरमाई गाउँपालिकामा भइरहेको भ्रष्टाचारविरोधी धर्ना मौखिक सहमतिपछि टुंगिएको छ। गाउँपालिका अध्यक्ष मनोज गुप्ताले धर्नामा रहेका स्थानीय युवाहरूसँग संवाद गर्दै एक महिनाभित्र माग गरिएका सबै सूचनाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि धर्ना तथा आन्दोलनका सबै कार्यक्रमहरू फिर्ता गरिएको धर्नाका सहभागी एक युवाले जानकारी दिए।
गाउँपालिकामा भएको विकास निर्माणको कार्यमा व्यापक भ्रष्टाचार र अनियमितता भएको भन्दै सम्पन्न योजनामा लागेको खर्चलगायतका विषयमा युवाहरूले सूचना माग गरेका थिए। गाउँपालिकाको विकासे योजना, डिपिआर निर्माण, तथा अन्य सामाजिक कार्यक्रमहरूमा आर्थिक अनियमितता भएको भन्दै सूचनाको हकसम्बन्धी कानुनलाई लत्याउँदै गाउँपालिकाले सूचना दिन आनाकानी गरेको युवाहरूले आरोप लगाएका छन्।
पटक–पटक ताकेता गर्दा पनि गाउँपालिका कार्यालयले सूचना नदिएपछि युवाहरू त्यसको विरोधमा धर्नामा बसेका थिए।
स्थानीय युवाहरूका अनुसार, गाउँपालिका अध्यक्षले सूचना दिने सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता गरिएको हो। गाउँपालिकामा विवाद बढ्दै गएपछि प्रमुख प्रशासकीय अधिकृत उमाशंकर चौधरी कार्यालय नआएको एक महिना भइसकेको छ।
गाउँपालिकामा समस्या समाधान गर्न र आन्दोलन फिर्ता गराउन गापा अध्यक्ष गुप्ता आफैँ आइतबार धर्नास्थल पुगेका थिए। लामो संवाद र वहसपछि दुवै पक्ष आन्दोलन फिर्ता गर्न सहमत भएका हुन्।
धर्नामा बसेका युवाहरूले आफूहरूले १५ दिनको समय दिएको भए पनि अध्यक्षकै अनुरोधअनुसार एक महिनाभित्र माग गरिएका सूचना उपलब्ध नगराए फेरि आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।
सहमति भएपछि गाउँपालिका अध्यक्ष गुप्ताले आफ्नो फेसबुक वालमा स्टाटस लेख्दै आन्दोलन तथा धर्ना कार्यक्रम फिर्ता भएको जानकारी गराएका छन्।

प्रतिक्रिया