काठमाडौं,२२ मंसिर । मोरङको बेलबारी–२ सिंहदेवी टोलमा शनिबार भएको दुःखद घटनाले स्थानीय समुदाय स्तब्ध बनेको छ। खानामा विष मिसाएर खुवाइएपछि ७७ वर्षीया इन्द्रमाया राईको ज्यान गएको छ भने उनका ७० वर्षीय पति भक्तबहादुर राई गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन्।
शनिबार दिउँसो भक्तबहादुर राई घर नजिकैको खोल्सामा अचेत अवस्थामा फेला परेपछि स्थानीयले उद्धार गरी घर पु¥याएका थिए। घरमा उनकी पत्नी इन्द्रमायासमेत बेहोस अवस्थामा भेटिएपछि दुवैलाई तत्काल विराटनगरस्थित नोबेल मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी हरिनन्दन चौधरीले बताए। भक्तबहादुरको अवस्था अहिले पनि चिन्ताजनक छ।
प्राथमिक अनुसन्धानमा उनीहरूलाई खुवाइएका खाद्य पदार्थमा विष मिसाइएको पुष्टि भएको प्रहरीले जनाएको छ। घटनास्थलमा रहेको खोरमा तीन कुखुरा मृत फेला परेपछि स्थानीयले पनि विषसेवनको आशंका व्यक्त गरेका थिए।
उक्त घटनामा संलग्न भएको आरोपमा ३२ वर्षीया भतिजी बुहारी सुनीता कार्कीलाई पक्राउ गरिएको छ। प्रहरीले अनुसार प्रारम्भिक बयानमा उनले आफैले खानामा विष मिसाएको र प्रमाण लुकाउन विषको बट्टा अँगेनामा जलाएको स्वीकारेकी छन्। बट्टा जलेको अवस्थामा प्रहरीले बरामद गरेको छ।
विषको प्रकार र घटना किन भयो भन्नेबारे पोस्टमार्टम, फरेन्सिक तथा प्रयोगशाला रिपोर्ट आएपछि मात्र स्पष्ट हुनेछ। सुनीताविरुद्ध कर्तव्य ज्यान सम्वन्धी मुद्दा दर्ता गरिएर म्याद थप गर्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाको समयमा वृद्ध दम्पतीसँगै बस्ने भतिजो प्रशान राई घरबाहिर रहेको बताइएपछि घटनाको कारण पारिवारिक विवाद हुन सक्ने अनुमान अनुसन्धानकर्ताहरूले गरेका छन्। यसैबीच स्थानीयवासीले निष्पक्ष, गहिरो र छिटो अनुसन्धान गरी दोषीलाई कडा कारबाहीको माग गरेका छन्।

प्रतिक्रिया