श्रेणी : प्रदेश
काठमाडौं,२० पुस । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मोबाइल बैंकिङ र डिजिटल वालेटमार्फत हुने ठगीका घटनामा वृद्धि भएको भन्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ। इसेवा, खल्ति लगायतका डिजिटल वालेट र बैंकिङ एपहरूमा पहुँच बनाई करोडौं रकम ठगी गर्ने गतिविधि बढेको सीआईबीले जानकारी दिएको छ।
प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले शुक्रबार सातबुँदे वक्तव्य जारी गर्दै मोबाइल बैंकिङ र डिजिटल वालेटको प्रयोगमा विशेष सावधानी अपनाउन सबैलाई चेतावनी दिएका छन्।
ठगीका प्रमुख तरिका सीआईबीका अनुसार ठगी गर्नेहरू सामाजिक सञ्जालजस्ता प्लेटफर्महरू (फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, मेसेन्जर आदि) बाट सम्पर्क गर्दै ठगीका लागि प्रलोभन दिने गरेका छन्। उनीहरूले अपरिचित नम्बरबाट फोन वा मेसेज गरेर निम्न तरिकाहरू अपनाइरहेका छन्:
1. अफिसियल कर्मचारीको नक्कली परिचय दिनु: बैंक तथा वित्तीय संस्थाको लोगो प्रयोग गरेर आधिकारिक कर्मचारीको नक्कली परिचय दिनु।
2. खातामा समस्या आएको झुटो सूचना दिनु: मोबाइल बैंकिङ वा वालेटमा समस्या देखिएको भन्दै ओटीपी कोड मागेर रकम ट्रान्सफर गर्नु।
3. अनलाइन प्रस्तावमार्फत ठगी: “सस्तो सामान” वा “लाभदायक व्यापार” जस्ता प्रस्ताव गर्दै लिंक खोल्न लगाई खातामा पहुँच बनाउनु।
4. फर्जी अनलाइन व्यापार: आकर्षक फोटो/भिडियो राखेर सामानको अर्डर लिई पैसा असुलेर सामान नपठाउनु।
5. ठगीका ठूला घटनाहरू: पोखरामा ५७ लाख, चितवनमा १६ लाख, र विभिन्न सरकारी कर्मचारी तथा सर्वसाधारणका करोडौं ठगीका घटनामा अनुसन्धान जारी।
अपरिचित नम्बरबाट आएको फोन वा मेसेजमा प्रतिक्रिया नगर्नु।कुनै पनि ओटीपी कोड वा व्यक्तिगत विवरण बाँडफाँड नगर्नु।ठगीसम्बन्धी जानकारी भएमा केन्द्रीय अनुसन्धान ब्यूरो वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध।सीआईबीका अनुसार हालसम्म ५०० भन्दा बढी संदिग्ध नम्बर ठगीमा संलग्न रहेको पाइएको छ। प्रहरीको चेतावनीलाई ध्यानमा राख्दै डिजिटल बैंकिङ प्रयोग गर्दा सतर्क रहन सबैलाई आग्रह गरिएको छ।
प्रतिक्रिया