
श्रेणी : प्रदेश
बुटवल,१८ साउन । रुपन्देहीको सियारी गाउँपालिका–७ भर्थापुरमा भएको मोटरसाइकल दुर्घटनामा एक वृद्धको मृत्यु भएको छ भने उनका छोरा गम्भीर घाइते भएका छन्।
ना ६ प ६६३० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मायादेवी गाउँपालिका–७ गर्गटीका ६० वर्षीय राममिलन धवलको ज्यान गएको हो। गम्भीर अवस्थामा अस्पताल पुर्याइएका धवलको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी गणेश सापकोटाले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकल चालक उनका छोरा विनोद धवल गम्भीर घाइते भएका छन्। टाउको, हात र खुट्टामा चोट लागेका उनलाई भैरहवास्थित सिटी अस्पतालमा भर्ना गरिएको छ।
– Advertisement –
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।


प्रतिक्रिया