
श्रेणी : प्रदेश
काठमाडौं,०१ असार । मोरङको पथरी–कानेपोखरी सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक प्रहरी सहायक हवल्दारको ज्यान गएको छ। दुर्घटनामा उनकी श्रीमती र दुई वर्षीया छोरी घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका–७ स्थित डाँसमोरङ्गी पुल नजिकै डाइभर्सनमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा इलामको जमुना प्रहरी चौकीमा कार्यरत ३५ वर्षीय सहायक हवल्दार जितेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको हो।
शनिबार साँझ करिब ८ बजे बेलबारी नगरपालिका–४बाट आफ्नै मोटरसाइकल (प्र.१–०२–०४३प २४७१) मा श्रीमती र छोरीसहित घर फर्किने क्रममा दुर्घटना भएको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहन विक्रम दाहालले जानकारी दिए।
घाइते भएकी चौधरीकी श्रीमती विमला धिमाल पनि प्रहरी जवान हुन् र उनी समेत जमुना प्रहरी चौकीमै कार्यरत थिइन्। विमलाको कान र खुट्टामा चोट लागेको छ भने छोरी जेसनको टाउकोमा चोट लागेको छ। दुवैको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।
दुर्घटनाको कारण मोटरसाइकलको तीव्र गति र सडकमा बनाइएको असुरक्षित डाइभर्सन रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रतिक्रिया