
श्रेणी : अन्तर्राष्ट्रिय
रौतहट,२७ चैत । मोटरसाइकलको ट्यांकीलाई प्रयोग गर्दै गाँजा तस्करी गरिरहेका एक नेपाली युवक भारतमा पक्राउ परेका छन्। रौतहटको बौधिमाई नगरपालिका–३ मटिअर्वा गाउँका मुकेश साहलाई भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको झरौखर थाना क्षेत्रबाट मंगलबार साँझ नियन्त्रणमा लिइएको हो।
भारतको सीमा सुरक्षा बल (SSB) जमुनिया क्याम्प र झरौखर थानाको संयुक्त गस्ती टोलीले साहलाई पिलर नम्बर ३५६–४ नजिकै रोकेर चेकजाँच गर्दा मोटरसाइकलको पेट्रोल ट्यांकीमा ४ किलो ३०० ग्राम गाँजा लुकाइएको फेला पारेको थियो। उनी प्रदेश २–०३–००७ प १७६७ नम्बरको कालो रङको १५० सीसीको पल्सर मोटरसाइकलमा भारतीय क्षेत्रमा प्रवेश गरेका थिए।
एसएसबीका सहायक कमान्डेन्ट भाग सिंह गुर्जरका अनुसार साह यसअघि पनि नेपालबाट भारततर्फ यस्तै तरिकाले गाँजा तस्करी गर्दै आएको प्रारम्भिक बयानमा स्वीकार गरेका छन्। पक्राउ परेका युवकसहित बरामद गाँजा र मोटरसाइकललाई थप कारबाहीका लागि झरौखर थानामा बुझाइएको बताइएको छ।
सीमाक्षेत्रमा यस्ता तस्करी गतिविधि बढिरहेका बेला भारतीय सुरक्षा निकायले निगरानी अझ कडा पारेको जनाएको छ।


प्रतिक्रिया