काठमाडौं, १४ पुस । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफूले चुनाव लड्न नपाउने अवस्था आए केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि रवि लामिछानेसम्मले पनि चुनाव लड्न नपाउने कडा टिप्पणी गरेका छन्।
आफ्नो दलतर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका बेला सञ्चारकर्मीहरूसँग कुरा गर्दै चौधरीले आगामी निर्वाचनमा आफू उम्मेदवार बन्न नपाउने भन्ने प्रश्न नै गलत भएको बताए।
“रेशम चौधरीले चुनाव लड्न पाउँदैन भन्नु सबैभन्दा गलत प्रश्न हो,” उनले भने, “यदि म लड्न पाउँदिन भने के ओलीजी, देउवाजी, प्रचण्डजी वा रविजीले लड्न पाउँछन् ? जेलबाट निस्किएर चुनाव लडिन्छ कि लडिँदैन ?”
जेनजी आन्दोलनको प्रसंग उठाउँदै चौधरीले आन्दोलनमा भएको दमन र बलिदानको स्मरण गराए। उनका अनुसार २३ र २४ भदौको जेनजी आन्दोलन दमनविरुद्ध भएको थियो र त्यस क्रममा बगेको रगत अझै नसुक्दै शीर्ष नेताहरूलाई चुनाव लड्न दिने तर आफूलाई नदिने कुरा अन्यायपूर्ण हो।
“जेनजी आन्दोलनमा ७७ जना शहीद भए, धेरै घाइते अझै अस्पतालमै छन्,” उनले भने, “त्यसबेलाका प्रधानमन्त्री केपी शर्मा ओली र सत्ता गठबन्धनका नेता शेरबहादुर देउवाले चुनाव लड्न पाउने, थारु भएकै कारण रेशम चौधरीले नपाउने ?”
चौधरीले मुलुकमा अहिले पनि जातका आधारमा अन्याय र दमन हुने गरेको आरोप लगाए। अदालत र न्यायिक अभ्यासप्रति पनि प्रश्न उठाउँदै उनले पुष्पकमल दाहाललाई चुनाव लड्न अधिकार दिइएको उदाहरण प्रस्तुत गरे।
टिकापुर घटनामा दोषी ठहर भई सजाय काटिरहेका बेला राष्ट्रपतिबाट सजाय मिनाहा भएको विषय उठाउँदा चौधरीले आफू घटनामा संलग्न नरहेको दाबी दोहोर्याए।
“देशको फौजदारी कार्यविधि संहिताअनुसार वारदात स्थलमै नभएको व्यक्तिलाई मुद्दा लगाउन मिल्दैन,” उनले भने, “म घटनास्थलमै थिइनँ। थारु भएकै कारण अन्याय गर्न पाइँदैन।”
चौधरीले आगामी निर्वाचनमा उम्मेदवार बन्ने आफ्नो हक कसैले खोस्न नसक्ने दाबी गर्दै राजनीतिक प्रतिशोधका आधारमा न्याय गरिन नहुनेमा जोड दिए।

प्रतिक्रिया