वीरगन्ज :

मुस्ताङमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सङ्कलन

श्रेणी : समाचार

2 years
birgunj report
15Views
0 Shares

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन गरिएकोे छ । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो ।

भौगोलिकरूपमा विकट र दुर्गम पहाडको खोंच र पाखोमा छरिएका जहाजका पाटपुर्जालाई सङ्कलन गर्न तारा एयरले मङ्सिर १९ गतेदेखि मजदुरको टोली परिचालन गरेको थियो । टोलीको नेतृत्व गरेका इन्द्रसिंह शेरचनले समुद्री सतहबाट चार हजार तीन सय मिटर उचाइको पहाडबाट जहाजका पाटपुर्जा र सामान सङ्कलन गरेर कोवाङ झार्ने काम सकिएको जानकारी दिए । मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा जहाजको भग्नावशेष रहेका थिए ।

“दश–बाह्र जनाले सानुसरेबाट कोवाङमा सामान बोकेर झार्न १० दिन लाग्यो”, उनले भने, “विकट, अप्ठ्यारो बाटोमा पहिरो गएर रुखसमेत ढलेका छन् । जहाजका सबै सामान सङ्कलन गरेर कोवाङ ल्याउन करिब १० दिन लाग्ने अनुमान गरेका छौँ ।” दुर्घटनाग्रस्त जहाजको ब्लयाक बक्स भने त्यतिबेलामै फेला परेको थियो ।

शेरचनको नेतृत्वमा विसं २०७२ फागुनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको सोलीघोप्टेमा दुर्घटना भएको तारा एयरको जहाजका पाटपुर्जा सङ्कलन गरेर दाना झारिएको थियो । दुर्घटनाग्रस्त जहाजका पाटपुर्जा र सामान सम्बन्धित कम्पनीले उठाउँछन् । बीमा दाबीका लागि सामान उठाउनुपर्ने हुन्छ ।

अर्कोतर्फ आकाशबाट सहजै देखिने दुर्घटनाग्रस्त जहाजको भग्नावशेषको दृश्यले नकारात्मक मानसिकताको सिर्जना गर्ने हुँदा पनि सम्भव भएसम्म पाटपुर्जा र सबै सामान सङ्कलन गर्ने गरिन्छ । मङ्सिर पहिलो साता तारा एयरको टोलीले जहाज दुर्घटनास्थलको हेलिकोप्टरबाट अवलोकन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *