वीरगन्ज :

मुख्यमन्त्री सिंहले घोषणा गरे पनि लिखित राजीनामा अझै नआएकाले नयाँ सरकार संकटग्रस्त

श्रेणी : BANNER

3 hours
Pradeep Sah
3.0kViews
1219 Shares

बीरगन्ज,३० भदौ । मधेस प्रदेशमा हाल सरकारको अस्तित्वमै प्रश्न उठिरहेको छ । प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले आफ्नो मुख्यमन्त्री तथा मन्त्रीहरूलाई फिर्ता बोलाएपछि प्रदेश सरकार व्यवहारिक रूपमा विघटनको अवस्थामा पुगेको हो । तर, मुख्यमन्त्री सतिश सिंहको लिखित राजीनामा अझै नआएकाले नयाँ सरकार गठनको प्रक्रिया सुरु हुन सकेको छैन ।

जनमतले भदौ २८ गते आफ्नो प्रदेश संसदीय दलको बैठकपछि सरकारबाट समर्थन फिर्ता लिएको घोषणा गरिसकेको छ । यसअघि भदौ २४ मा सिंहले सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए । तर, उनले औपचारिक रूपमा प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा नदिएसम्म प्रक्रिया अघि बढ्न नसक्ने बताइएको छ ।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरू अहिले मुख्यमन्त्रीको औपचारिक राजीनामाको पर्खाइमा छन् । एमाले संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री सरोज यादवले अहिले सरकार निर्माणका लागि कुनै प्रक्रिया अघि नबढाइएको स्पष्ट पारे । ‘मुख्यमन्त्रीज्यूको लिखित राजीनामा नआउँदासम्म प्रक्रिया अगाडि बढ्दैन,’ उनले भने ।

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवका अनुसार प्रदेश सरकार अझै संवैधानिक रूपमा कायम नै छ । ‘मुख्यमन्त्रीले राजीनामा दिएकै छैनन् । उनले अझै विश्वासको मत लिने संवैधानिक अधिकार राख्छन्,’ उनले भने ।
मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले पनि पार्टीले मुख्यमन्त्रीलाई फिर्ता बोलाएको पत्र दर्ता गराए पनि त्यसको संवैधानिक औचित्य नरहेको बताए । ‘राजीनामा नै आएपछि मात्रै प्रक्रिया अगाडि बढ्छ,’ मण्डलले स्पष्ट पारे ।

यसबीच विपक्षी दल जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले अहिलेको सरकारलाई ‘कामचलाउ’ सरकारको रूपमा भनेका छन् । उनले मुख्यमन्त्री सिंहलाई नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन आग्रह गरेका छन् ।
मुख्यमन्त्री सिंहले भने आफू राजीनामा दिन तयार रहेको बताउँदै प्रदेश प्रमुख अनुपस्थित भएकाले राजीनामा बुझाउन नसकेको बताएका छन् । ‘प्रदेश प्रमुखज्यू आइसकेपछि लिखितरूपमै राजीनामा बुझाउँछु,’ सिंहले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *