वीरगन्ज :

मुख्यमन्त्री सिंहद्वारा वीरगन्जका क्यासिनो अनुगमन, १ नेपाली नागरिक पक्राउ

श्रेणी : BANNER

2 months
Pradeep Sah
1.9kViews
1079 Shares

वीरगन्ज,०८ फाल्गुन । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले वीरगन्जस्थित आदर्शनगरका दुई क्यासिनो – लर्डस् दियालोको किङ्स क्यासिनो र होटल सुरजको क्यासिनो – को अनुगमन गरेका छन्। अनुगमनका क्रममा होटल सुरजको क्यासिनोबाट जुवा खेलिरहेका एक नेपाली नागरिकलाई नियन्त्रणमा लिइएको छ।

मुख्यमन्त्री सिँहले पछिल्लो समय नेपाली नागरिकहरूले क्यासिनोमा जुवातास खेल्दा गम्भीर सामाजिक, आर्थिक तथा मनोवैज्ञानिक समस्या भोग्नु परेको भन्दै त्यसको निगरानी बढाउन पहल गरेका हुन्। विशेषगरी, हालै एक नेपाली नागरिकले क्यासिनोमा ४० लाख रुपैयाँ गुमाएको घटनाबारे जानकारी पाएपछि उनले बुधबार अनुगमन गरेका थिए।

नेपालको कानुनअनुसार क्यासिनोमा नेपाली नागरिकको प्रवेश वर्जित छ। तर, अनुगमनका क्रममा क्यासिनोहरूमा प्रवेश व्यवस्थापन प्रणाली व्यवस्थित नभएको पाइएपछि मुख्यमन्त्री सिँहले ती क्यासिनो सञ्चालकहरूलाई आवश्यक कागजातसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उपस्थित हुन निर्देशन दिएका छन्।

उनले क्यासिनो व्यवस्थापनलाई एक महिनाभित्र प्रवेश गरेका व्यक्तिहरूको परिचयपत्रसहितको विवरण, एक साताको सिसिटिभी फुटेज, तथा कर्मचारीहरूको अभिलेख पेस गर्न निर्देशन दिएका छन्।

अनुगमनपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री सिँहले क्यासिनो सुरक्षालगायतका दृष्टिकोणले संवेदनशील भए पनि व्यवस्थापन पक्ष सन्तोषजनक नभएको बताए। उनले क्यासिनोबाट प्राप्त दस्तावेजहरूको अध्ययनपछि थप कारबाही अघि बढाइने जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *