वीरगन्ज :

मुख्यमन्त्री सिंहको विद्यालय अनुगमन स्रोतसाधनको दुरुपयोग

श्रेणी : अपराध

2 weeks
Pradeep Sah
2.6kViews
1984 Shares

जनकपुर, ३१ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विद्यालय शिक्षाको गुणस्तर र कार्यान्वयनमा सुधार ल्याउन मङ्गलबारदेखि सामुदायिक विद्यालयहरूको अनुगमन थालेका छन्। शिक्षामा देखिएको अव्यवस्था र जनगुनासोका बीच धनुषाको हंसपुर नगरपालिकास्थित दुई सामुदायिक विद्यालय पुगेर उनले स्थिति अवलोकन गरेका हुन्।

मुख्यमन्त्री सिंहले हंसपुर–२ स्थित राष्ट्रिय आधारभूत विद्यालय बघचौडा र हंसपुर–८ को श्री मिथिला तिलक नन्दकुमारी कार्की माध्यमिक विद्यालयको स्थलगत निरीक्षण गरे। निरीक्षणका क्रममा नामाङ्कन भए पनि विद्यार्थीहरू कक्षामा अनुपस्थित, नियमित कक्षा सञ्चालन नहुने, सरसफाइको अभाव, शौचालय नहुनुजस्ता समस्या देखिएको उनले जानकारी दिए।

मुख्यमन्त्री सिंहले कतिपय सामुदायिक विद्यालयमा निजी विद्यालयका विद्यार्थीको नाम मात्र राखिएको, तर पढाइमा संलग्न नभएको अवस्था फेला परेको बताए। यस्तो प्रवृत्तिले सरकारी स्रोतसाधनको दुरुपयोग भइरहेको उनको भनाइ छ।

अनुगमनपश्चात् मुख्यमन्त्रीले नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरी विद्यालयमा आवश्यक पूर्वाधार—विशेषतः शौचालय—यथाशीघ्र निर्माण गर्न निर्देशन दिएका छन्। उनले माध्यमिक तहमा पढ्ने सयौं विद्यार्थीका लागि आधारभूत शौचालय सुविधा नहुनु दुःखद अवस्था भएको भन्दै तत्काल सुधारको माग गरेका छन्।

उपप्रमुख दुर्गीदेवी मण्डलले शौचालय निर्माणका लागि बजेट निकासा भइसकेको र चालु आर्थिक वर्षमै निर्माण सम्पन्न गरिने आश्वासन दिएकी छन्।अनुगमन टोलीमा नीति आयोग मधेश प्रदेशका उपाध्यक्ष सोहन साह, शिक्षा निर्देशनालयका निर्देशक महेन्द्र महतोसहितका अधिकारी सहभागी थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *