वीरगन्ज,१३ फाल्गुन । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले स्वास्थ्य र शिक्षाको गुणस्तर सुधारका लागि कडा कदम चालेका छन् ।
जनकपुरधाम र वीरगन्ज महानगरपालिकामा निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाहरूको अनुगमनका क्रममा कानुन विपरीत काम गर्ने २१ वटा अस्पताललाई बन्द गरिएको छ ।
मुख्यमन्त्री सिंहको अभियानमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंह र मन्त्रालयका अधिकारीहरूको पनि सक्रिय सहभागिता रहेको छ ।
जनकपुरधाममा ६० स्वास्थ्य संस्थाको जाँच गर्दा २० वटा कानुन विपरीत सञ्चालनमा रहेको पाइएपछि तत्काल बन्द गर्न आदेश दिइएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मुख्यमन्त्री कार्यालयको आदेशको अवज्ञा गर्ने एक स्वास्थ्य संस्थाका सञ्चालकलाई पक्राउ गरी कारबाहीसमेत गरिएको छ ।
त्यस्तै,वीरगन्जमा पनि एउटा स्वास्थ्य संस्था मापदण्ड विपरीत चलेको भेटिएपछि बन्द गरिएको छ ।
मुख्यमन्त्री सिंहले पत्रकारहरूसँग कुरा गर्दै जनकपुरधामको तुलनामा वीरगञ्जका स्वास्थ्य संस्थाहरू अलि व्यवस्थित देखिएको बताए । जनकपुरधाममा भने स्वास्थ्य क्षेत्रको अवस्था चिन्ताजनक रहेको उनको भनाइ छ । यहाँका निजी अस्पतालमा एनेस्थेसिया विशेषज्ञको अभाव देखिएको र केही महिनाको छोटो तालिम लिएका व्यक्तिहरूले शल्यक्रिया गर्दा बिरामीको ज्यान जोखिममा परेको उनले खुलासा गरे । “राजधानी भएर पनि जनकपुरधाममा स्वास्थ्य सेवामा धेरै बेथिति भेटियो,” उनले भने ।
जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्न अनुगमनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै उनले अब शिक्षाको सुधारमा पनि जोड दिने बताए ।
आगामी एसइई परीक्षामा नक्कल रोक्न कडा नीति ल्याइएको छ। नक्कल गर्ने कोठाका निरीक्षकलाई तुरुन्तै कारबाही गर्ने र परीक्षा केन्द्रमै गडबडी भेटिए केन्द्राध्यक्षमाथि कडा कदम चाल्ने उनले चेतावनी दिए ।
मधेस प्रदेश सरकारले स्वास्थ्य र शिक्षाको सुधारलाई अभियानकै रूपमा अघि बढाएको छ । यसमा नागरिक समाज र आम जनताको साथ रहेको मुख्यमन्त्रीको दाबी छ । हाल मधेस प्रदेशको स्वास्थ्य र शिक्षा क्षेत्र कमजोर अवस्थामा रहे पनि यी कदमले नयाँ आशा जगाएको छ ।
प्रतिक्रिया