
श्रेणी : मधेस
जनकपुर,२० जेठ । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार मध्यरातमा सामाजिक सञ्जालमार्फत राजीनामा पत्र सार्वजनिक गर्दै आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष समेत रहेका कर्णलाई मुख्यमन्त्री सिंहले २०८१ भदौ ७ गते प्रेस सल्लाहकारमा नियुक्त गरेका थिए। जनमत पार्टीका मुख्यमन्त्री सिंहको सचिवालयमा कार्यरत रहँदा कर्ण फरक राजनीतिक पृष्ठभूमिका व्यक्ति थिए।
राजीनामा पत्रमा कर्णले फरक संगठन र विचारधाराका कारण पेसागत यात्रालाई प्रभावकारी रूपमा अघि बढाउन कानुनी र नैतिक रूपमा असहज महसुस गरेको बताएका छन्। उनले लेखेका छन्, “फरक राजनीतिक सिद्धान्त, विचारधारा र संलग्नता हुने व्यक्तिलाई सामान्यतः नदिइने जिम्मेवारी यहाँले मलाई दिँदा मैले मेरो योग्यता र क्षमतामाथि गर्व गर्ने स्थिति बनेको छ।”
उनको राजीनामासँगै मुख्यमन्त्री सिंहको सचिवालयमा प्रेस सल्लाहकारको पद रिक्त भएको छ।


प्रतिक्रिया