
श्रेणी : अपराध
जनकपुर,०६ चैत । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले निजी स्वास्थ्य संस्थाहरूको अनुगमन गर्दै १ सय १४ वटा स्वास्थ्य संस्थामध्ये ७४ वटा अवैध रहेको पत्ता लगाएका छन्। यी अस्पतालहरूलाई तत्काल बन्द गरिएको छ।
मुख्यमन्त्री सिंहले प्रदेश सरकारको स्वास्थ्य र जनसंख्या मन्त्रालयको सहयोगमा अनुगमनको प्रक्रिया तीव्र बनाइरहेका छन्, जसका कारण अवैध र मापदण्डविपरीत सञ्चालित अस्पताल र क्लिनिकहरूको संख्या घटाउँदै लगिएको छ।
तथ्यांकअनुसार, सर्लाहीमा सबैभन्दा बढी २४ वटा अवैध अस्पताल भेटिएका छन् र ती सबै बन्द गरिएका छन्। यस्तै, मधेस प्रदेशको राजधानी जनकपुरमा पनि २२ वटा अवैध अस्पताल बन्द गरिएका छन्। सप्तरीमा २, रौतहटमा २१, महोत्तरीमा ५ र पर्सामा १ अस्पतालको सेवा बन्द गरिएको छ।
जनस्वास्थ्य अधिकृत सञ्जीव ठाकुरका अनुसार, अधिकांश निजी अस्पतालहरू न त स्वास्थ्य मापदण्ड पूरा गरेका छन्, न त वैधानिक रूपमा सञ्चालित छन्। उनले भने, “सरकारी तवरबाट अनुगमन हुने गर्छ, तर यसपटक मुख्यमन्त्रीज्यूको पहलमा सशक्त अनुगमन भइरहेको छ र नियमविपरीत सञ्चालित अस्पतालहरूको बन्दीकरण प्रक्रिया जारी छ।”
मुख्यमन्त्री सिंहले अस्पतालहरूको नाममा जनताको ज्यानसँग खेलवाड भइरहेको आरोप लगाउँदै भने, “जनगुनासा लगातार आइरहेका थिए, तर प्रशासन र सम्बन्धित निकायले ध्यान दिएनन्। यसरी हुने बेथितिलाई रोक्न हामी कडा कदम चालिरहेका छौं।” उनले अझै भने, “हामीले पाएका छौं कि केही अस्पतालहरूमा एम्बुलेन्स चालकहरूले समेत अस्पताल सञ्चालन गरेका छन्।”
यसअघि, केही व्यक्तिहरू अनमी, अहेब पढेर जागिर नपाएपछि आफ्नो थोरबहुत मेडिकल ज्ञानको भरमा निजी अस्पताल खोलेको पाइएको छ। “कसैले थोरै मेडिकल ज्ञानका आधारमा चार-पाँच कोठामा घर भाडामा लिएर अस्पताल सञ्चालन गरेका छन्,” मुख्यमन्त्री सिंहले भने।
नेपालको जनस्वास्थ्य सेवा ऐन, २०७५ अनुसार, कुनै पनि निजी स्वास्थ्य संस्थाले इजाजतपत्र लिएर मात्र सेवा प्रदान गर्न सक्छ। यस ऐनले अनुमति नलिई सञ्चालन भएका स्वास्थ्य संस्थाहरूलाई कानूनी कारबाहीको व्यवस्था गरेको छ।

प्रतिक्रिया