वीरगन्ज :

मिथिला नगरपालिकामा उपप्रमुखसहित जनप्रतिनिधिबाट तालाबन्दी

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.8kViews
1563 Shares

जनकपुरधाम,०१ जेठ । धनुषाको मिथिला नगरपालिकामा जनप्रतिनिधिहरू नै आन्दोलित हुँदै बिहीबार तालाबन्दी गरेका छन्। नगरप्रमुख महेन्द्र महतोको एकलौटी र मनोमानी कार्यशैलीको विरोधमा उपप्रमुख सुनिता सिंह बुढाथोकीसहित २७ जना जनप्रतिनिधिले संयुक्त रूपमा कार्यालयमा तालाबन्दी गरेका हुन्।

उपप्रमुख बुढाथोकीका अनुसार नगरप्रमुखले अन्य जनप्रतिनिधिको सुझाव र योजना बेवास्ता गर्दै आफ्नै योजना मात्र सञ्चालन गर्दै आएका छन्। “विधिसम्मत निर्णय प्रक्रिया नभई घर–परिवारझैं पालिका चलाउने प्रयास हुँदै आएको छ,” उनले आरोप लगाइन्।

तालाबन्दीमा ५ जना वडाध्यक्ष, १२ जना कार्यपालिका सदस्य, ९ जना वडा सदस्य र उपप्रमुख सहभागी छन्। उनीहरूले नगरप्रमुखले वडाध्यक्षहरूलाई बजेट खर्च गर्न नदिएको, समन्वय नगरेको र बहुमत जनप्रतिनिधिलाई बेवास्ता गर्दै पालिका सञ्चालन गर्दै आएको आरोप लगाएका छन्।

उपप्रमुख बुढाथोकीले भनिन्, “हामीले बारम्बार प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई योजनाहरू किन रोकिएको भनेर सोध्दा पनि स्पष्ट उत्तर दिइँदैन। उल्टै ‘चलाउन दिन्न’ भन्ने जवाफ आउँछ।”

उनको भनाइमा, चालु आर्थिक वर्षका १० महिना बितिसक्दा पनि नगरप्रमुख जनताको अपेक्षा र आवश्यकताप्रति संवेदनशील देखिएका छैनन्। साथै, कांग्रेसबाहेकका दलबाट निर्वाचित जनप्रतिनिधिलाई योजनामा समावेश नगरिएको गुनासो पनि उनले राखिन्।

उपप्रमुख सिंहले नगरसभा कानुनविपरीत सञ्चालन गरिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी छन्। सो मुद्दा फिर्ता नलिएको कारण आफूमाथि कार्यविधि अवरोध गरिएको उनको भनाइ छ।

यसबीच नगरप्रमुख महेन्द्र महतोले तालाबन्दीबारे अनौपचारिक रूपमा मात्र थाहा पाएको भन्दै कुनै औपचारिक प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। “कार्यपालिकाका सदस्यहरूलाई सबै कुरा थाहा भएकाले मिडियामा बोलेर स्पष्ट गर्नुपर्ने अवस्था छैन,” भन्दै उनले विवाद टार्ने प्रयास गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *