
श्रेणी : राजनीति
जनकपुरधाम । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीलाई कारवाही गरेर नै छाड्ने प्रतिबद्धता जनाएका छन् । आइतबार जनकपुरधाममा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालय उद्घाटन गर्दै गृहमन्त्री श्रेष्ठले मिटरब्याज सम्बन्धमा थप अनुसन्धान र कारबाही प्रक्रिया सरकारले अघि बढाइसकेकाले मिटरब्याजीको हकमा सरकार सदैव कठोर भएर प्रस्तुत हुने बताएका हुन् ।
उनले मिटरब्याजीको पक्षमा रहेका जोसुकैलाई पनि सरकारले कारबाही गर्ने भन्दै पीडितहरुलाई न्याय दिलाएर नै छाड्ने प्रतिबद्धता जनाए । मधेसमा मिटरब्याजीको जालो फैलिएको दाबी गर्दै गृहमन्त्री श्रेष्ठले राजनीतिक पहुँचको आधारमा कुनै पनि मिटरब्याजीले उन्मुक्ति नपाउने जिकिर गरे ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीय सरकारले प्रहरी समायोजन गरिदिए वा समन्वय गरे २४ घण्टा भित्र मिटरब्याज पीडितहरुलाई न्याय दिलाएर पीडकहरुलाई कालकोठरीमा थुन्ने दाबी गरे । आयोगले जनकपुरधाममा आजदेखि केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ ।
प्रारम्भिक काम जारी राखेको आयोगले आजदेखि जनकपुरधाममा कार्यालय स्थापना गरी कार्यसञ्चालन सुरू गरेको हो ।कार्यालय स्थापना भएसँगै मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन पीडितहरूको निवेदन आह्वान गरिएको आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । निवेदन आजदेखि वैशाख ३१ गतेसम्म १५ दिनभित्र दिनुपर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया