बीरगन्ज,२४ चैत । जनकपुरस्थित मालपोत कार्यालय परिसरबाट सर्वसाधारणसँग अवैध रकम असुली गर्ने आरोपमा पाँच जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेहरूमा कमला नगरपालिका–८ का नविन कुमार गोढान, जनकनन्दिनी गाउँपालिका–४ का राम बिनोद साह, महोत्तरी पिपरा गाउँपालिका घर भई हाल जनकपुर–१३ बस्दै आएका बिराजी यादव, सबैला नगरपालिका–११ का जय गोविन्द यादव र जनकपुर–२ कदमचोकका ज्ञानदेव साह रहेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानले उनीहरू सरकारी सेवा सहज गराइदिने भन्दै सेवाग्राहीबाट अवैध रूपमा रकम असुल्ने काममा संलग्न रहेको देखाएको छ। मालपोत कार्यालय आसपासमा सक्रिय यी बिचौलियाहरूले सर्वसाधारणलाई झुक्याउँदै आर्थिक लाभ उठाउने गरेको आरोप छ।
पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया