वीरगन्ज :

माघे खिचडी पर्व भव्य रूपमा मनाउन तयारी पूरा

श्रेणी : मधेस

9 hours
Pradeep Sah
2.9kViews
1045 Shares

वीरगञ्ज २९ पुस । माघे खिचडी मूल समारोह समिति, पर्साले आगामी माघ १ गते आदिवासी थारु समुदायको महान पर्व माघे खिचडी भव्य रूपमा मनाउने सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। समितिले आज वीरगञ्जस्थित नेपाल पत्रकार महासङ्घको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेको हो।

समारोह समितिका कार्यक्रम संयोजक जङ्गबहादुर चौधरीका अनुसार आदिवासी थारु समुदायको नयाँ वर्ष २६५० को अवसरमा शुभकामना आदान–प्रदानसहित विविध सांस्कृतिक तथा परम्परागत कार्यक्रमहरू आयोजना गरिनेछ। कार्यक्रममा थारु समुदायका मौलिक नृत्य–गीत, घुम्टो, सामा–चकेवा, झम्टा, थारु पूर्वी नाच, बालबालिकाद्वारा प्रस्तुत गीत–नृत्य तथा बाल कला प्रदर्शनी समावेश रहनेछन्।

त्यसैगरी, थारु समुदायका परम्परागत खानाका प्रदर्शनी पनि आकर्षणको केन्द्र रहने समितिले जनाएको छ। घोङ्गी, केकडा, माछा, परेवा, हाँस, कुखुरा, चिचरलगायतका परिकारहरूको प्रदर्शनीमार्फत थारु संस्कृतिको पहिचान झल्काइनेछ।

आर्थिक समिति संयोजक नन्दकिशोर पञ्जियारका अनुसार माघ ३० गते पावरहाउस चोकदेखि मकालु हुँदै घण्टाघरसम्म मोटरसाइकल र्‍याली आयोजना गरिनेछ भने सोही दिन साँझ ६ बजे दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिनेछ। माघ १ गते रक्तदान कार्यक्रमसहित विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरी पर्वलाई अझ भव्य बनाइने उनले जानकारी दिए।

समितिले पर्सा जिल्लाका सम्पूर्ण आदिवासी जनजाति, थारु समुदाय तथा आम नागरिकलाई कार्यक्रममा सहभागी भई माघे खिचडी पर्वलाई सफल बनाउन आग्रह गरेको छ।

पत्रकार सम्मेलनमा थारु पत्रकार सङ्घका अध्यक्ष शम्भु महत्त्व थारु, प्रचार–प्रसार संयोजक दिपेन्द्र चौधरी, सांस्कृतिक संयोजक विजया ओझैया, सुरक्षा संयोजक विकास चौधरीलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *