श्रेणी : धर्म संस्कृति
कैलाली,२८ पुस । थारू समुदायको प्रमुख पर्व माघी नजिकिँदै गर्दा पश्चिम नेपालको तराई क्षेत्रमा पर्ने थारू बस्तीहरूमा यस पर्वको तयारी चुलिएको छ। माघी पर्व थारू समुदायका लागि नयाँ वर्षको आरम्भको प्रतीक हो, र यसलाई उल्लासका साथ मनाउन थारू परिवारहरूले घरघरमा तयारी तीव्र पारेका छन्।
कैलाली र कञ्चनपुरका थारू बस्तीमा चहलपहल बढेको छ, जहाँ पुरुषहरू मासु जोहोट गर्न व्यस्त छन् भने महिलाहरू दुना, टपरी बनाउन जुटेका छन्। माघीको लागि अन्डी धानको चामल, पिठो, तोरीको तेल, दाउरा सङ्कलन र घर लिपपोत गर्ने काम धमाधम भइरहेको छ।
माघी पर्वका लागि विशेषगरी बङ्गुरको मासु, माछा, घोंगी र अन्य परिकारहरूको जोहो भइरहेको छ। पर्वको समय थारू समुदायमा नयाँ लुगा किन्ने र विदेशिएका सदस्यहरू घर फर्कने परिपाटी पनि कायम छ। माघीको तयारीको लागि एक महिनाअघिदेखि अण्डीको रोटी, ढिक्री र सिद्राको जोहो गर्ने काम सुरु भएको छ।
पर्वको दिन, थारू समुदायका सदस्यहरू नदी या तलाउमा गएर नुहाइधुवाइ गर्दै आर्शीवाद लिन्छन् र विशेष खाद्यान्न जस्तै चामल, तेल, नून र बेसारलाई छुने परम्परा पालना गर्छन्। माघीमा अण्डी चामलको भातरोटी, घोंगी, सुङ्गुरको मासु, माछा, गङ्गटाल जस्ता विशेष परिकारहरू परिकार खाने र सामूहिक नाचगान गरी रमाइलो गर्ने परम्परा छ।
माघी पर्वका अवसरमा थारू समुदायमा मेलासमेत आयोजना गरिन्छ, जसमा विशेष लोकसंस्कृतिका कार्यक्रम र सांस्कृतिक प्रदर्शनीहरूको पनि आयोजना हुने गर्दछ।
प्रतिक्रिया