वीरगन्ज :

माओवादीको मधेश संसदीय दलमा गहिरो विवादः नेता फेर्न बहुमत सांसदको प्रचण्डलाई दबाब

श्रेणी : प्रदेश

2 weeks
Pradeep Sah
1.7kViews
1881 Shares

जनकपुर,३१ वैशाख । नेकपा माओवादी केन्द्रको मधेश प्रदेश संसदीय दलमा नेतृत्व परिवर्तनको माग चर्किँदै गएको छ। संसदीय दलका अधिकांश सदस्यले वर्तमान नेता भरतप्रसाद साहप्रति असन्तुष्टि जनाउँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेतृत्व फेर्न दबाब दिएका छन्।

मंगलबार साँझ प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा सांसदहरूको असन्तुष्टि झनै प्रस्टिएको थियो। पार्टी उपमहासचिव वर्षमान पुन र मातृका यादवको उपस्थिति रहेको बैठक दुई घण्टा बढी चले पनि कुनै निष्कर्ष निकाल्न सकेन।

बैठकमा सहभागी एक सांसदका अनुसार सांसद सुनिता यादवले साहलाई तत्काल दलको नेताबाट हटाउन नसके आफू राजीनामा दिन तयार रहेको बताएकी थिइन्। “साहजस्तो व्यक्तिको नेतृत्वमा म बस्न सक्दिन। बरु अध्यक्षले मलाई राजीनामा दिन भन्नुहोस्,” भन्दै उनले भावुक अपील गरेकी थिइन्।

सांसद रहबर अन्सारी, रजि हैदर, फकिरा महतो, माला कर्णलगायतले पनि साहको नेतृत्वमाथि कडा आलोचना गरेका थिए। उनीहरूले दलको नेता हटाएर नयाँ नेतृत्व चयन गर्न वा अध्यक्ष प्रचण्डले नै नयाँ नेता तोक्न आग्रह गरेका छन्।

सांसदहरूको असन्तुष्टि केवल नेतृत्व क्षमतामा सीमित छैन। साहमाथि अर्थमन्त्री र गृहमन्त्री रहेका बेला आर्थिक अनियमितता गरेको आरोप पनि लागेको छ। केही समयअघि भौतिक पूर्वाधार मन्त्री सरोज यादवले प्रदेश सभामा नै गम्भीर आरोप लगाएका थिए।

माओवादी संसदीय दलको विधानअनुसार, एक चौथाइ सदस्यको लिखित अविश्वास प्रस्तावले दलको नेता हटाउन सकिन्छ। हाल ९ जना सांसद रहेको दलमा यस्तो प्रस्ताव ल्याउन तीन जना सांसदको समर्थन पर्याप्त हुन्छ।

हालसम्म सुनिता यादव, रहबर अन्सारी, रजि हैदर, फकिरा महतो, माला कर्ण गरी पाँच सांसद स्पष्ट रूपमा साहको विपक्षमा छन्। उपनेता युवराज भट्टराई तटस्थ छन् भने सांसद शारदा पहाडी मात्रै साहको पक्षमा देखिएकी छन्।

बैठकमा साहको पछाडि मातृका यादवको संरक्षण रहेको भन्दै केही सांसदले मातृकाप्रति पनि आक्रोश पोखेका छन्। सांसद अन्सारीले त भनिसके, “साहलाई जबरजस्ती टिकाइरहनुभन्दा सांसदलाई राजीनामा दिन लगाउनुहोस्, उपचुनाव जितेर तपाईं (मातृका यादव) नै नेता बन्नुहोस्।”

स्रोतका अनुसार अध्यक्ष प्रचण्ड भने अहिले पनि साहलाई नै दलको नेतामा निरन्तरता दिने मनस्थितिमा छन्। यद्यपि बहुमत सांसदको असन्तुष्टिपछि उनी थप दबाबमा परेका छन्।

बैठक निष्कर्षविहीन रहँदा अब जेठ १२ मा पुनः बैठक बस्ने सहमति भएको बताइएको छ। गत माघमै बस्ने भनिएको बैठक माओवादीको मधेश केन्द्रित अभियान सकिएपछि हाल सम्पन्न भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *