
श्रेणी : अर्थ
जनकपुर,२३ असार । गौशाला नगरपालिकामा सञ्चालित योजनामा अनियमितताको आशंका भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार साँझ छापा मारेको छ। आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले विभिन्न योजना र कार्यक्रमसँग सम्बन्धित मूल कागजातहरू नियन्त्रणमा लिएको छ।
आयोगको टोली साँझ ५ बजे नगरपालिकाको कार्यालयमा पुगेर करिब ३ घण्टा खोजबिन गरेको थियो। खोजबिनका क्रममा चालु आर्थिक वर्षमा सञ्चालन भएका योजनाहरू खेलकुद, तालिम, सडक निर्माण, उपभोक्ता समितिमार्फत भएका निर्माण कार्यहरू, बजार ठेक्का तथा बहुमुखी क्याम्पसलाई दिइएको अनुदानसम्बन्धी फाइलहरू नियन्त्रणमा लिएको नगरपालिकाका कर्मचारीहरूले जानकारी दिएका छन्।
नगरपालिकामा केही समयदेखि प्रमुख डा. दिपेन्द्र महतो र उपप्रमुख रेणु कुमारी महतोबीच आन्तरिक विवाद चलिरहेको छ। उपप्रमुख महतोले यसअघि दर्ता–चलानी पुस्तिका नियन्त्रणमा लिएर अख्तियार कार्यालयमा बुझाएकी थिइन्। त्यसको प्रतिक्रियास्वरूप नगर प्रमुखले उपप्रमुखको कार्यकक्षमा ताला लगाउनेसम्मको कदम चालेका थिए।


प्रतिक्रिया