
श्रेणी : खेलकुद
कास्की । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ क्लबले गण्डकी प्रदेशलाई नौ विकेटले पराजित गरेको छ । बिहीबार पोखरा रङ्गशालामा भएको खेलमा गण्डकीले दिएको २७ रनको झिनो लक्ष्य एपीएफले एक सय ६ बल बाँकी छँदै भेटायो ।
एपीएफको जितमा सीता राना मगरले पाँच बलमा दुई चौका प्रहार गर्दै १२ रन जोडिन् । इन्दु बर्माले तीन बलमा दुई चौकासहित नौ रन जोडिन् । बलिङतर्फ गण्डकीकी श्रृष्टि जैशीले एक विकेट लिइन् । यसअघि पहिला ब्याटिङ गरेको गण्डकीले १८ ओभर २ बलमा सबै विकेट गुमाएर २६ रन बनाएको थियो ।
गण्डकीका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । श्रृष्टि जैशीले सर्वाधिक पाँच रन जोडिन् । बलिङतर्फ एपीएफकी इन्दु बर्माले तीन ओभरमा चार रन दिएर दुई विकेट लिइन् ।
यस्तै सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता राना मगरले एक÷एक विकेट लिए । जितसँगै एपीएफ समूह ’ए’ को शीर्ष स्थानमा पुगेको छ । एपीएफले दुई खेलमा दुई जित जित्दै चार अङ्क जोडेको छ । प्रतियोगितामा अहिले मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको खेल चलिरहेको छ ।


प्रतिक्रिया