वीरगन्ज :

महानगरको स्वास्थ्य ल्याबमा थप १५ सेवा, अब ७५ % सस्तोमा विस्तारित परीक्षण सुविधा

श्रेणी : BANNER

3 hours
Pradeep Sah
1.9kViews
1108 Shares

वीरगंज (पर्सा), ७ मंसिर । वीरगंज महानगरपालिकाले संचालन गर्दै आएको जनस्वास्थ्य प्रयोगशाला (ल्याब) ले सेवा दायरा थप विस्तार गरेको छ । वडा नं. ३ मालपोत चोकमा करिब दुई वर्षअघि स्थापना गरिएको यो ल्याबमा आइतबारदेखि थप १५ प्रकारका स्वास्थ्य परीक्षण सेवाहरू सुरु गरिएको हो । यसअघि यो प्रयोगशालामा ५५ प्रकारका मात्र परीक्षण सुविधा उपलब्ध थियो । नयाँ सेवाको शुभारम्भ वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेका हुन् ।

ल्याबकी इन्चार्ज राधिका कुमारी गुप्ताका अनुसार थाइराइड, बी–१२, एचएस–सीआरपी, टीएसएच लगायतका परीक्षण अब नियमित रूपमा उपलब्ध हुनेछन् । यी परीक्षण सेवा अघि उपलब्ध नभएकाले बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता रहेको बताउँदै उनले अब भने बिरामीहरू बिना परीक्षण फर्किनु नपर्ने वातावरण बनेको जानकारी दिइन् ।

महानगरपालिकाले नगरवासीलाई सहुलियत दरमा गुणस्तरीय जनस्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने उद्देश्यले २०८० असोज २८ गतेदेखि यो ल्याब संचालनमा ल्याइएको हो । मेयर सिंहले बिरामीहरूको बढ्दो चापलाई ध्यानमा राख्दै ल्याबको सेवा क्रमशः थप विस्तार गरिने उल्लेख गरे । साथै, दिशा तथा पिसाबका नमूना संकलनका लागि महानगरका विभिन्न चार स्थानमा नमुना संकलन केन्द्र स्थापना गर्ने तयारी भइरहेको जानकारी पनि दिए ।

प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णका अनुसार महानगरको स्वास्थ्य ल्याबले निजी स्वास्थ्य संस्थाको तुलनामा ७५ प्रतिशतसम्म सस्तो शुल्कमा सेवा प्रदान गर्दै आएको छ । उदाहरणस्वरूप, ल्याबमा सीबीसी परीक्षण रु. १७५, लिभर फंक्सन टेस्ट रु. २००, र लिपिड प्रोफाइल रु. ३०० मा उपलब्ध छन् । निजी ल्याबहरूले भने यी परीक्षणका लागि रु. ७०० देखि १००० सम्म लिने गरेको कर्णले बताए । यस्तै, निजी संस्थामा झन्डै रु. १२०० पर्ने थाइराइड परीक्षण महानगरको ल्याबमा रु. ५५० मै गरिनेछ ।

महानगरले सामाजिक सुरक्षालाई प्राथमिकता दिँदै जेष्ठ नागरिक (बृत्ति प्राप्त), मृगौला तथा क्यान्सर पीडित, एचआईभी संक्रमित, सहिद परिवार, मधेस आन्दोलनका घाइते तथा विपन्न परिवारका नागरिकलाई ९० प्रतिशत छुट, र अपाङ्गता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटको व्यवस्था गरेको मेयर सिंहले स्पष्ट पारे ।

इन्चार्ज गुप्ताका अनुसार ल्याब संचालन गरिएको दुई वर्षको अवधिमा कुल २२ हजार ५१६ जनाले सेवा लिइसकेका छन् । २०८० असोज २८ देखि २०८२ मंसिर ६ गतेसम्म निरन्तर रूपमा सेवा दिँदै आएको ल्याबमा नगरवासीको विश्वास निरन्तर बढ्दै गएको उनले बताइन् । सेवा विस्तारका अवसरमा आयोजित कार्यक्रममा वीरगंज महानगरपालिका वडा नं. ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार, वडा नं. ४ का वडाध्यक्ष जगत साह कानु, स्वास्थ्य तथा जनसंख्या प्रवद्र्धन शाखाका प्रमुख राजु साह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *