वीरगन्ज,१० फाल्गुन । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भमा स्नान गरी फर्किरहेको नेपाली तीर्थयात्री सवार एक स्कर्पियो शुक्रबार राति दुर्घटनामा परेको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको र सात जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा सप्तरीको कंचनरूप नगरपालिका – ७ का लिलावती चौधरी र परसुराम चौधरी रहेका छन् । यस्तै, वडा नम्बर ५ का जितु यादवकी श्रीमती हरिहरदेवीको पनि दुर्घटनामा मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
दुर्घटना उत्तर प्रदेशको बाँसगाउँ थाना क्षेत्र अन्तर्गत गोरखपुर लिङ्क रोडमा भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार, दुर्घटनामा परेका घाइतेहरूको उपचार गोरखपुरको जिल्ला अस्पतालमा भइरहेको छ ।
सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाका अनुसार, मृत्यु भएका व्यक्तिहरूका परिवारले शनिवार बिहान सप्तरीको धरमपुरस्थित प्रहरी चौकीमा दुर्घटनाको बारेमा जानकारी दिएका थिए ।
पोस्टमार्टमका लागि शवलाई जिल्ला अस्पतालमा पठाइएको र थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।
घटनाले महाकुम्भ मेला समापनपछि नेपाली तीर्थयात्रीहरूको सुरक्षित यात्रा र यात्राको तयारीमा थप सावधानीको आवश्यकता रहेको महसुस गराएको छ ।
प्रतिक्रिया