वीरगन्ज :

मलंगवामा जनसहभागितासहितको गठबन्धनको प्रदर्शन

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.5kViews
1285 Shares

सर्लाही,२६ असार । देशभरका उत्पीडित समुदायको हक अधिकारका लागि संघीय गणतान्त्रिक गठबन्धनले सर्लाहीको मलङ्वामा संयुक्त जनजागरण सम्पन्न गरेको छ । नारायण धर्मशालामा सम्पन्न अन्तरक्रिया तथा सभामा चारवटै घटक दलका शीर्ष नेताहरूले आफ्ना विचार राख्नुका साथै हजारौं जनताको सहभागितामा भएको भव्य र्‍यालीले नयाँ ऊर्जा सञ्चार गरेको नेताहरुले बताएका छन् ।

गठबन्धनका संयोजक एवं नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले आफ्नो विशेष मन्तव्यमा विगतका कमजोरीहरू औंल्याउँदै उत्पीडित जनताको नाममा खोलिएका धेरै पार्टी र गठबन्धनहरूले धोका दिएको आरोप लगाए। उनले ती दलहरूले मधेशी जनताको आन्दोलनलाई सत्ता प्राप्तिको भर्याङका रूपमा मात्र प्रयोग गरेको दाबी गरे।

अन्सारीले स्पष्ट पारे कि जबसम्म संविधान पुनर्लेखन वा संशोधनमार्फत मधेशी, मुस्लिम, दलित, आदिवासी जनजाति, निषाद तथा पिछडिएका वर्गको हक अधिकार सुनिश्चित हुँदैन, तबसम्म संविधानप्रति जनताको अपनत्व जाग्नेछैन र देशमा स्थिरता आउन सक्नेछैन। उनले वर्तमान गणतन्त्र ‘भ्रष्ट कर्मचारी, भ्रष्ट नेता, दलाल पुँजीपति र बिचौलियाहरूको हातमा बन्धक’ बनेको भन्दै यसलाई नेपाली जनताको वास्तविक गणतन्त्रमा रूपान्तरण गर्न संघीय गणतान्त्रिक गठबन्धन संघर्षरत रहेको बताए।

पूर्ण समानुपातिक निर्वाचन प्रणाली, जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अधिकार सम्पन्न प्रदेशको माग गर्दै अन्सारीले वर्तमान संघीयतालाई ‘प्रशासनिक एकाइ मात्र’ र ‘उत्पीडित जनतासँगको धोका’ करार दिए। उनले सम्पूर्ण उत्पीडित समुदायलाई एकताबद्ध भई गठबन्धनको छातामुनि गोलबद्ध हुन आह्वान गरे।

नेपाल संघीय समाजवादी पार्टीकी संसदीय दलकी नेता तथा पूर्व गृह, सञ्चार तथा कानुन मन्त्री बिमला अन्सारीले प्रदेशसभा भित्रको आफ्नो अनुभव सुनाउँदै वर्तमान सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिन्। उनले भनिन्, ‘यो सरकार उत्पीडित जनताको सरकार होइन। यो मधेशी, दलित, महिला, आदिवासी जनजाति, मुस्लिम र निषाद समुदायका लागि कुनै स्पष्ट नीति, योजना र प्रतिबद्धता बिना चलिरहेको छ।’

शिक्षाको पहुँच, आर्थिक उत्थान र सामाजिक न्यायका मुद्दामा सरकारको उदासीनतालाई औंल्याउँदै उनले संसदमा निरन्तर आवाज उठाउँदै आएको जानकारी दिइन्। बिमला अन्सारीले यो लडाइँ व्यक्तिगत नभई सम्पूर्ण उत्पीडित समुदायको भएको भन्दै सबैलाई संघीय गणतान्त्रिक गठबन्धनलाई बलियो बनाउन आग्रह गरिन्।

कार्यक्रममा बहुजन एकता पार्टीका अध्यक्ष हरिनन्दन अम्बेडकर, जनजागृति पार्टीका अध्यक्ष ध्रुवलाल निषाद र नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महत्वले पनि उत्पीडित वर्गको अधिकार सुनिश्चित गर्न चारवटै पार्टीको साझा रणनीति र ऐक्यबद्धता प्रस्तुत गरे। उनीहरूले संघीयता, सामाजिक न्याय, समावेशी सेना, आर्थिक अवसर र राजनीतिक प्रतिनिधित्वमा पूर्ण समानता कायम गर्न एकीकृत आन्दोलन अपरिहार्य रहेकोमा जोड दिए। वर्तमान चुनाव प्रणाली, सत्ता संरचना र संसदीय विकृतिको विरुद्ध चारै अध्यक्षहरू एक स्वरमा उभिनुलाई जनताको पक्षमा साहसिक कदमका रूपमा लिइएको छ। सभाअघि हजारौंको संख्यामा भव्य र्‍याली निकालिएको थियो। राष्ट्रिय झण्डा, पार्टी झण्डा, प्लेकार्ड र नारासहितको यो र्‍यालीले मलङ्वाको हरेक कुनामा जनजागरणको आवाज पुर्‍याएको थियो, जसले गठबन्धनको जनसमर्थनलाई उजागर गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *