वीरगंज, १५ भदौं – खानेपानी मन्त्री प्रदीप यादव र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई ज्यान मार्ने धम्की दिएकी टिकटकर किरण साहलाई प्रहरीले ३ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।
पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार साहविरुद्ध परेको उजुरीको आधारमा साइबर अपराध, संघीय सांसदलाई धम्की दिन नपाइने र अफवाह फैलाउन नहुने जस्ता कसुरमा मुद्दा दर्ता गरिएको छ। उनले सम्माननीय अदालतबाट अनुसन्धानका लागि ३ दिन म्याद थप भएको जानकारी दिए।
समाजिक सञ्जाल तथा फोनमार्फत मन्त्री यादव र मेयर सिंहलाई अपमानजनक अभिव्यक्ति र ज्यान मार्ने धम्की दिएको केही घण्टामै साहले टिकटकमा खुशीसाथ नाचगानको भिडियो अपलोड गरेकी थिइन्।
बारा, कलैया उपमहानगरपालिका–२६ निवासी तुसली साहकी २८ वर्षीया छोरी किरण साह हाल वीरगंज महानगरपालिका–१३ मा बसोबास गर्दै आएकी छिन्।
मन्त्री र मेयरलाई सार्वजनिक रुपमा आपत्तिजनक शब्द प्रयोग गर्दै धम्की दिएपछि खानेपानी मन्त्री प्रदीप यादवका स्वकीय सचिव हरेन्द्र साहले प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि प्रहरीले किरण साहलाई वीरगंजबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।
प्रतिक्रिया